काठमाडौँ- नेकपा एकीकृत समाजवादी का पोलिटव्युरो सदस्य तथा डोटीबाट प्रतिनिधिसभा सदस्यमा विजयी प्रेम आलेले आफूले जनतासँग भोट माग्दा गरेका वाचा पूरा गर्ने बताएका छन् । प्रतिनिधिसभामा निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन डोटीमा आयोजित कार्यक्रममा बोल्दै आलेले यस्तो बताएका हुन् ।
आलेले आफूले खुटिया, बिपिनगर, गड्सेरा, दिपायल, सायलहुँदै बझाङको उरै जोड्ने सडकलाई पहिलो प्राथमिकतामा राखेको र आफ्नो पाँचवर्षे कार्यकालभित्र सो सडक निर्माण गरिसक्ने बताए । ‘जनताबीचमा विकास निर्माणमा मैले गरेको प्रतिबद्धता पूरा गर्छु। मेरो प्राथमिकताका काम गर्न म अहोरात्र खट्नेछु,’ उनले भने ।
उनले निर्वाचनको समयसम्म आफू जुन दलमा आबद्ध रहेको भए पनि अब आफूलाई कसले मत दियो भनेर नहेर्ने र डोटीको समग्र विकासमा लाग्ने उल्लेख गरे । संघीय संसद्मा उनको यो लगातार तेस्रोपटक विजय हो ।