समाचार
एमालेको निर्णयविरुद्ध विद्यादेवी भण्डारी आज पत्रकार सम्मेलन गर्दै
काठमाडौं - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) ले आफूलाई सक्रिय राजनीतिमा आउन रोक लगाउने निर्णय गरेपछि त्यसबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न आज पत्रकार सम्मेलन आयोजना गरेकी छिन्।
बबरमहलस्थित कार्की बैंक्वेटमा दिउँसो ३ बजे हुने पत्रकार सम्मेलनमार्फत उनले पार्टीले आफ्नो सदस्यता खारेज गरेको विषय र आफ्नो आगामी राजनीतिक कदमबारे जानकारी दिने उनी निकट स्रोतले बताएको छ।
गत साउन ५ र ६ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले राष्ट्रपति जस्तो सम्मानित पदमा बसेको व्यक्ति पुनः सक्रिय दलीय राजनीतिमा आउनु संविधानको मर्मविपरीत हुने तर्कसहित भण्डारीलाई रोक लगाउने निर्णय गरेको थियो।
तर, भण्डारीले राजनीति गर्नु आफ्नो संवैधानिक हक भएको भन्दै एमालेको उक्त निर्णयको राजनीतिक रूपमा प्रतिवाद गर्ने तयारी गरेकी छिन्। पत्रकार सम्मेलनमार्फत उनले देशव्यापी राजनीतिक अभियानको घोषणा समेत गर्न सक्ने अनुमान गरिएको छ।