काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनीप्रति दु:ख व्यक्त गरेका छन्। उनले बिहीबार साँझ ७ मिनेट ११ सेकेण्डको भिडिओ सन्देशमार्फत सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, व्यक्ति तथा व्यापारीका घर, र भाटभटेनीमा भएको आगजनी र लुटपाटको जिम्मा जसले गराएको हो उसैले लिनुपर्ने बताएका छन्।
प्रसाईँले आफू र आफ्ना कार्यकर्ता आन्दोलनमा सहभागी नभएको जिकिर गर्दै बालेन शाहले नआउन भनेकाले नगएको स्पष्ट पारेका छन्। उनले भने, ‘म चाहिँ यो कार्यक्रममा संलग्न छैन पनि। किनभने बालेनजीले नआउनू भनेर स्टाटस नै लेख्नुभएको थियो। र, यो कार्यक्रमको जिम्मा जसले गराएको हो, त्यसले लिनुपर्छ।’
प्रसाईँले नेपालमा पश्चिमाहरूको प्रभाव बढ्दै गएको र यसको अन्तिम उद्देश्य पश्चिमाहरूको डिजाइनमा देश कब्जा गर्ने ठूलो खेल सुरु भएको दाबी गरेका छन्।
उनले आन्दोलनका क्रममा घाइते भएका १५० जनालाई आफ्नो अस्पताल बीएनसीमा निःशुल्क उपचार गरी घर पठाएको र अहिले पनि १५ जना गम्भीर अवस्थाका बिरामीको आईसीयूमा बिना पैसा उपचार भइरहेको जानकारी दिए।
भिडिओमा प्रसाईँले बुद्धिजीवीहरूका लागि भन्दै २०२८ सालदेखिका राजनीतिक घटनाक्रमको विश्लेषण गरेका छन्।
प्रसाईँको भनाइ जस्ताको त्यस्तै:
“मलाई एउटा दुःख लागेको कुरो के छ भने, जुन २२ गते हामीले कार्यक्रममा सरिक हुन्छु भन्दाखेरि बालेनजीले तपाईंहरू आउनु पर्दैन भन्नुभयो। हामी त गएनौँ, हाम्रा कार्यकर्ताहरू गएनन् र हामी अहिलेसम्म निस्केका पनि छैनौँ।
२३ गते र २४ गतेको घटनामा के दुःख लागेको छ भने मान्छेहरूका घर जलाउनु, सम्पत्ति तोडफोड गर्नु र सिंहदरबारमा आगो लगाउनु, सर्वोच्च अदालतमा आगो लगाउनु, जोसुकैको घरमा पनि आगो लगाउनु र व्यापारीहरूको घर, होटेल सबैमा आगो लगाउनु, भाटभटेनी जस्ता ठाउँमा आगो लगाउनु, यो एकदम दुःखदायी हो।
र, यो घटनामा मेरो, हाम्रो अभियानको पनि नाम आयो। राजावादीहरू भने। हामी राजावादी होइनौँ भनेर हामीले अस्ति क्लियर गरेका छौँ। हामी राष्ट्रवादी हौँ। र, हाम्रा अभियन्ता साथीहरू, म चाहिँ यो कार्यक्रममा संलग्न छैन पनि। किनभने बालेनजीले नआउनू भनेर स्टाटस नै लेख्नुभएको थियो। र, यो कार्यक्रमको जिम्मा जसले गराएको हो, त्यसले लिनुपर्छ।
मैले विगत १३ वर्षदेखि आफूसँग भएको घटनालाई आधार मानेर र यो देशमा पश्चिमाहरूको खास गरेर पश्चिमाहरूको प्रभाव कस्तो छ भनेर मैले एउटा स्टाटस लेखेको छु। र, पश्चिमाहरूको जुन प्रभावले आज देशलाई कुन स्थितिमा पुर्याउँदै छ, त्यो कुरा मैले स्टाटसमा सबै लेखेको छु। त्यो राम्रोसँगले पढ्नुहोला र राम्रोसँगले अध्ययन गर्नुहोला। खास गरेर बुद्धिजीवीहरूलाई त्यो भनेर, त्यो स्टाटस पढ्न भन्छु।
२०२८ सालमा राजा महेन्द्रको रहस्यमय निधन। त्यसपछि २०२८ सालमै नयाँ शिक्षा लागू। २०३७ सालमा जनमत संग्रह। २०४६ सालमा जनआन्दोलन। जनआन्दोलनपछि प्राप्त प्रजातन्त्र, त्यतिले पनि नपुगेर २०५२ सालमा जनयुद्धको सुरुवात। २०५८ सालमा हिन्दूका प्रतीक राजा वीरेन्द्रसहित राजपरिवारका सदस्यहरूको रहस्यमय दरबार हत्याकाण्ड। २०७२ साल असोज ३ गते पूर्ण रूपमा राजसंस्था र हिन्दू अधिराज्यको अन्त्य गरी संविधान जारी। संविधानमार्फत नेपालबाट हिन्दू राष्ट्र हटाई राजसंस्थाविहीन, धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्न सफल।
त्यसैगरी २०७९ सालमा डाक्टर गोविन्द केसी जस्ता पात्रलाई प्रयोग गर्दै केही वकिलहरू, केही मानवअधिकारवादी, साथै केही समाजमा नाम चलेका विज्ञहरू भन्ने, आफूलाई विज्ञहरू भन्ने, राजनीतिक विश्लेषकहरू भन्नेहरूका साथै सर्वोच्च अदालतका केही पूर्व प्रधानन्यायाधीशहरूलाई समेत प्रयोग गर्दै सर्वोच्च अदालतदेखि देशका संवैधानिक निकायहरू कब्जा गर्ने, सामाजिक सञ्जाल आफ्नो नियन्त्रणमा लिई चरम दुरुपयोग गरी उज्ज्वल थापाको नेतृत्वमा विवेकशील साझा पार्टीको उदय गराइयो।
युवा पुस्तालाई विदेश पलायन हुन बाध्य बनाउने, मेडिकल शिक्षा र प्लस टु माथिको शिक्षा प्रणाली पूरै ध्वस्त पार्ने, देशलाई नागरिकविहीन बनाउने खालको षड्यन्त्र तीव्र गतिमा अघि बढाइयो। त्यस्तै क्रममा विवेकशील साझा पार्टीको प्रयोग गरियो। त्यो पार्टीको अस्तित्व समाप्त भएपछि त्यसका ७० पर्सेन्ट सदस्यलाई राष्ट्रिय स्वतन्त्र पार्टी र ३० पर्सेन्टलाई अहिले जसले देशमा षड्यन्त्रको बिरुवा रोप्यो, उसैको समर्थक बनाएर पठाइयो।
यसको अन्तिम उद्देश्य भनेकै अहिले भर्खर हामी राष्ट्रवादीहरूले उठाउन लागेको वैदिक सनातन हिन्दू राष्ट्र, लघुवित्त पीडित, सहकारी पीडित, बैंक पीडित, बैंकबाट कालोसूचीमा परेका र भ्रष्टाचार विरुद्धको आन्दोलनलाई ओझेलमा पार्दै वैधानिक रूपमै अब चाँडै चुनाव गराई जनताकै मतबाट पश्चिमाहरूको ठूलो डिजाइनमा यो देश कब्जा गर्ने ठूलो खेल सुरु गरिएको छ। यसरी नेपालबाट वैदिक सनातन धर्म र राजसंस्थाको स्थायी अन्त्य गर्नु र ग्रेटर नेपालको भ्रम छरेर नागरिकहरूलाई दिग्भ्रमित बनाउनु, नेपाली भूभाग प्रयोग गरेर तिब्बतलाई चीनबाट अलग गर्नु, भारतलाई वरिपरिबाट घेरा हालेर अस्थिर राजनीतिमा लानु, भारतलाई विभाजन गर्नु र अन्ततः नेपाललाई पश्चिमाहरूको इशारामा भूराजनीतिक खेलमा प्रवेश गराउनु र यो देशलाई युक्रेन बनाउनु हो।
यस्तो खतरनाक षड्यन्त्र विरुद्ध यदि हामी देश, धर्म र नागरिकहरूको रक्षा गर्न चाहन्छौँ भने सबै राष्ट्रवादी एक जुट भई वैदिक सनातन धर्मसहितको हिन्दू अधिराज्य नेपालको संरक्षणका लागि एकजुट भएर जुटौँ। साथै, अब राजाले पनि राष्ट्रको रक्षार्थ, राष्ट्रको पक्षमा दह्रो भएर खुट्टा टेक्नु अपरिहार्य रहेको छ।
विगत ५५ वर्षदेखि पश्चिमाहरूले खेल खेल्दै खेल्दै दक्षिण भारत, उत्तर चाइना दुवैको बीचमा अब चाँडै पश्चिमाहरूबाट सेनाहरू आउँदै छन्। यो कुरामा तपाईंहरू क्लियर हुनुस् र यो हाम्रो भूमि रणमैदान बन्दै छ। त्यो बनाउने हिसाबकिताबले यहाँका युवाहरूलाई विगत २५ वर्ष, २८ वर्ष, ३० वर्षदेखि नयाँ शिक्षा लागू गरेर २०२८ सालमा नयाँ शिक्षा जहाँबाट शिक्षाको बीउ रोपियो नेपालमा, त्यहीँबाट यो देश सिध्याउने काम भएको छ। त्यसले गर्दा सम्पूर्णलाई बुझ्न म आह्वान गर्दै साथ दिनु हुनको लागि, राष्ट्र जोगाउने अभियानमा साथ दिनको लागि अनुरोध गर्दछु । नमस्ते !”