काठमाडौँ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाहरू माथि बुचा सहर नियन्त्रणमा लिएका बेला ३ सयभन्दा बढी सर्वसाधारणलाई मारेको र यातना दिएको आरोप लगाएका छन् । किएभस्थित आफ्नो कार्यालयबाट देशवासीलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति जेलेन्स्कीले यस्तो आरोप लगाएका हुन् ।
सम्बोधनका क्रममा जेलेन्स्कीले उक्त सहर रुसी सेनाले नियन्त्रणमा लिएका बेला गरेका कार्यहरूको अनुसन्धान हालसालै शुरु गरिएको जानकारी दिए । हाल आफूहरूसँग बुचामा मात्रै ३ सयभन्दा बढीलाई मारिएको र यातना दिइएको सूचना रहेको बताउँदै पुरै शहरमा अनुसन्धान गरिदाँ पीडितहरूको सङ्ख्या अझ ठूलो हुनसक्ने उनको भनाई छ ।
बुचा सहित किएभ नजिक रहेका अन्य स्थानहरूको भ्रमण पश्चात् जेलेन्स्कीले रुसी सेनाले शहरहरू ध्वस्त पारेको, अपहरण गरेको, यातना दिएको अनि सर्वसाधारणहरूलाई मारेको प्रशस्त प्रमाण फेला परेको बताएका छन् । बीबीसी