सोलुखुम्बु : यहाँ मानवाधिकार उल्लङ्घन तथा ज्यादतीका घटना बढेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको घटना विवरणअनुसार जिल्लामा मानवाधिकार उल्लङ्घन तथा ज्यादतीका घटना वृद्धि भएका हुन् । सन् २०२० मा ३० घटना अभिलेखीकरण गरेको इन्सेकले सन् २०२१ को छ महिनाको अवधिमा २८ मानवाधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका जनाएको छ ।
बिहीबार सल्लेरीमा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्वअर्धवार्षिक समीक्षा कार्यक्रममा सबैभन्दा बढी बलात्कार र बलात्कार प्रयासका घटना बढी रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । गत वर्ष नौ घटना भएकामा यो वर्ष छ महिनाको अवधिमा १० बलात्कार र बलात्कार प्रयासका घटना घटेको इन्सेक प्रतिनिधि भोजराज कार्कीले बताए ।
नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका अध्यक्ष नुतन श्रेष्ठको अध्यक्षतामा सरोकारवालाबीच गरिएको अन्तक्र्रिया कार्यक्रममा बाल यौन दुव्र्यवहारका तीन, आत्महत्या दुरुत्साहनका एक, हत्या एक र भौतिक संरचनामा क्षति एक भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । छ महिनाको अवधिमा इन्सेकको पहलमा एक बालकको उद्धार गरिएको बताइएको छ ।
यस्तै सोही घटनाको समाचार बाहिर आएपछि सात वर्षीया अनाथ बालिकाको समेत प्रहरीले उद्धार गरेको इन्सेकले जनाएको छ । इन्सेक प्रतिनिधि कार्कीका अनुसार प्रहरी नायब उपरीक्षक कवित कटवालको विशेष पहलमा ती बालिकाको उद्धार गरी एसओएस बालग्राम इटहरी पठाइएको छ ।