×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

शुक्लाफाँटा रानिमा गैँडा गणना सुरु

  • IT |
  • चैत २०, २०७७
शुक्लाफाँटा रानिमा गैँडा गणना  सुरु

कञ्‍चनपुर - राष्ट्रिय गैंडा गणना कार्यक्रमअन्तर्गत बिहीबारबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि  गैंडा गणना सुरु भएको छ। 
निकुञ्जको मालुमेला पोस्टमा गणक, हात्तीका माहुतेसहितलाई प्रशिक्षणपश्चात् गणना सुरु भएको हो। चैत ९ मा छैटौं राष्ट्रिय गणनाअन्तर्गत पर्सा चितवन कम्प्लेक्सबाट सुरु भई अन्तिम चरणमा शुक्लामा गणना भइरहेको हो।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैंडा पाइने क्षेत्र मालुमेला, बेलडाडी र शुक्ला घाँसे मैदानलाई तीन ब्लकमा विभाजन गरी गणनाको काम भइरहेको छ।
उक्त ब्लकहरूमा पालैपालो हात्तीमा गणकहरू खटिएर गैँडा खोज्नेछन्। उनीहरूले नजिकबाट हेड काउन्ट विधिबाट गणना गर्नेछन्। गणनामा ४ हात्तीसँगै १२ माहुते, ८ गणक र १० व्यवस्थापक गरी ३० जना खटिनेछन्।

२०१५ को राष्ट्रिय गणनाअनुसार शुक्लाफाँटामा गैंडाको संख्या ९ थियो। २०१७ मा चितवन राष्ट्रिय निकुञ्जबाट ५ गैंडा स्थानान्तरणपछि दुई वर्षअघि गरिएको अनुगमनमा यहाँ गैंडाको संख्या १७ पुगेको छ।

निकुञ्जमा यसअघि अनुगमन क्रममा पहिचान गरिएका गैंडा विभिन्न चिह्नका आधारमा प्रत्यक्ष हेरेर गणना गरिनेछ। यसबाहेक नयाँ भेटिएकाहरूको पनि विस्तृत विवरण संकलन गरिनेछ।

प्रतिकृया दिनुहोस्