काठमाडौं- नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न अरू धेरै जना व्यक्ति अनुसन्धानको दायरामा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दानबहादुर कार्कीले अरू थप १०–११ जना पक्राउ पर्न सक्ने बताए । तर को–को पक्राउ पर्दैछन् भन्नेचाहिँ गोप्य राखिएको छ ।
प्रहरीले ठगीका साथै संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ । स्रोतका अनुसार अन्य उच्चपदस्थको पनि ठगीमा संलग्नता रहेको संकेत मिलेको छ । पक्राउ परेकामध्ये सानु भण्डारी र केशव दुलालले आफूहरूलाई सघाउने व्यक्तिहरूको प्रमाणसहित पोल खोलेका छन् । तर, नाम खुलाएकामध्ये केही व्यक्तिमाथि मात्र पक्राउ पुर्जी जारी भएको छ । अन्य व्यक्तिहरूको हकमा प्रमाण संकलन भइरहेको प्रहरी अधिकारी बताउँछन् ।