डोटी । निर्वतमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूलाईबिना आधारको आरोप लगाएको बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मन्त्री बनाउन आग्रह गरेको भनेर बिभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएकोप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको समेत उनले बताए । ‘केपी शर्मा ओलीलाई छाड्ने पक्षमा आफु नरहेको र मन्त्री बनाउन मैले माग गरेको पनि छैन,’ उनले भने, ‘निराधार आरोप लगाइयो, यस्तो गलत प्रचार नगरौँ ।’
ठूलै पद दिएपनि आफू कुनै हालतमा केपी शर्मा ओलीको साथ छाड्ने पक्षमा नरहेको उनको दाबी छ । ‘मैंले शेरबहादुर देउवालाई भेटेको छैन, सत्य तत्थ्य बिनाका समाचार नलेख्नुस, प्रमाण छ म भेट्न भएको र मन्त्री पद मागेको ? भ्रामक समाचारको खेती गर्न बन्द गरौँ, गलत अभवाह नफैलाउँ,’ उनले भने ।
निर्वतमान वन तथा वातावरणमन्त्री आले एक हप्तादेखि ढाडको नशा च्यापिएर ब्लु लोटस अस्पतालमा उपचार गराइरहेका छन् । एमाले पार्टी एक हुनु पर्नेमा आफ्नो जोड भएकाले मन्त्री पद माग्ने विषय भनेको कल्पना भन्दा बाहिरको कुरा भएको उनको जिकिर छ ।