विराटनगर- इटहरी उपमहानगरपालिकाको मेयरमा एमालेबाट चार जनाको नाम सिफारिस भएको छ । मेयरमा आकांक्षी रहेका वर्तमान मेयर द्वारिकलाल चौधरीको नाम भने हटेको छ । उनको नाम नगर कमिटीबाट सिफारिस भएर आएको थियो ।
इटहरीमा यामकुमार सुब्बा, वर्तमान उपमेयर लक्ष्मी गौतम, तैयव हुसेन र रामप्रसाद चौलागाईँको नाम मेयरमा सिफारिस भएको छ । त्यस्तै उपमेयरमा पाँच जनाको नाम सिफारिस गरिएको छ । जसमा संगीता चौधरी, अमला श्रेष्ठ, अम्बिका चौधरी, विष्णु शर्मा र रामचरण चौधरी परेका छन् ।
धरानमा एमालेले मेयरमा मोतीराज सुनुवार, वर्तमान उपमेयर मन्जु भण्डारी, विजय राई र मनोज मेयाङ्बोसहित चार जनाको नाम सिफारिस गरेको छ । उपमेयरमा भने वर्तमान उपमेयर भण्डारी समेत अटाएकी छन् । उनीसहित पदम लिम्बु, लहरुमाया जिमी, सविता राई र सुशीला पहाडी सिफारिस भएका हुन् । सिफारिस भएका नाम मंगलबार नै केन्द्रीय कमिटीमा पठाइएको एमाले प्रदेश सचिव चिन्तन पाठकले जानकारी दिए ।