×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नक्कली कागजात देखाएर नागरिकता लिने पक्राउ!..

नक्कली कागजात देखाएर नागरिकता लिने पक्राउ!..

काठमाडौं- आइतबार नक्कली कागजात देखाएर नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले १० जना भारतीय नागरिकलाई सार्वजनिक  गर्‍यो। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले शनिबार पक्राउ गरेको थियो। भारतीय नागरिकहरूको समूहले नेपालका विभिन्न जिल्ला प्रशासन कार्यालयमा झुट्टा विवरण पेश गरी नागरिकता लिएको गोप्य सूचनाको आधारमा प्रहरीले ३ महिना अघि अनुसन्धान अगाडि बढाएको थियो। झुट्टा विवरण पेश गरी सिराहा, बारा, पर्सा, रूपन्देही लगायतका जिल्लाबाट नागरिकता लिएको सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा अनुसन्धान गर्दै जाँदा झुट्टा विवरण पेश गरी नागरिकता लिएको भेटिएको कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनोज केसी बताउँछन्।

‘जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी गरी नियन्त्रणमा लिएको हो,’ उनले भने, ‘शंका लागेदेखि निगरानीमा गर्दै आएका थियौं। शनिबार एक साथ पक्राउ गर्‍यौं। ’पक्राउ पर्नेमा भारत बिहार घर भई काठमाडौंको शंखमुल बस्ने ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमति देवी गुप्ता र ३९ वर्षीय गोपाल गुप्ता छन्। यस्तै, भारत घर भई ललितपुरको लगनखेल बस्ने ४४ वर्षीय रामसुन्दर गुप्ता, गोंगबु बस्ने ४३ वर्षीय रामप्रवेश गुप्ता, कलंकी बस्ने ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मिनादेवी गुप्ता र ५२ वर्षीया राजेशकुमार गुप्ता हुन्।

उनीहरूलाई प्रहरीले शंखमुल, कलंकी, बागबजार, गंगबु, बानेश्वर लगायतका स्थानबाट पक्राउ गरिएको हो। उनीहरूमध्ये धेरैले २०६३ सालमा नागरिकता बनाउने टोली स्थलगत रूपमा खटिएको बेला बनाएको एसएसपी केसी बताउँछन्। ‘नागरिकता सिफारिस दिने वडा र बनाउने जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूमाथि अनुसन्धान भइरहेको छ,ʼ उनले भने।

उनीहरूले कसरी नागरिकता लिएका थिए भन्ने अनुसन्धान गर्न बाँकी रहेको एसएसपी केसीले बताए। अहिले मुख्य मुख्य व्यक्तिलाई मात्र प्रहरीले नियन्त्रणका लिएको छ। परिवारका अन्य सदस्यमाथि छानबिन भइरहेको कार्यालय प्रमुख एसएसीपी केसी बताउँछन्। ‘अहिले १० जनालाई मात्र पक्राउ गरेका छौं बाँकीको अनुसन्धान भइरहेको छ,ʼ उनले भने, ‘पक्राउ परेका व्यक्तिलाई नागरिकता ऐन तथा लिखित सम्बन्धी कसुरमा आवश्यक कारवाही हुन्छ।ʼ

अहिले दुई वटा परिवारलाई प्रहरीले पक्राउ गरेको छ। पहिलो परिवार ५५ वर्षीय भरतप्रसाद गुप्ताको छ। उनी भारतीय नागरिक शिवशंकर गुप्ता र फुलमतीका छोरा हुन्।

भरतप्रसाद गुप्ताले सिराहा रामनगर मिर्यैया-२ बस्ने भनी २०६३ साल चैत १७ गते नागरिकता लिए। उनले आफ्नो मात्र नागरिकता बनाएनन्। उनकी श्रीमती ज्ञानमती देवी गुप्ता र उनीहरूका दुई छोराको समेत नेपाली नागरिकता बनाइदिए।

ज्ञानमतीले २०६८ साल असार ९ गते लिएकी थिइन्। उनीहरूका छोराले २०७० सालमा लिएको प्रहरी अनुसन्धानमा खुलेको छ।

शिवश‌ंकरका अर्का छोरा मोहन गुप्तासँग भारतीय नागरिकता छ। तर उनका छोरा रामसुन्दर गुप्ता, रामप्रवेश र छोरी प्रियंका गुप्ताको नेपाली नागरिकता छ। रामसुन्दरको पर्सा, रामप्रवेश / प्रियंकाको रूपन्देहीबाट २०६३ मा नागरिकता जारी भएको छ।

‘यी व्यक्तिका अन्य सदस्यका छानबिन भइरहेको छ। १५ जना अनुसन्धानको दायरामा छन्,ʼ अनुसन्धान कार्यालका सुचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले भने।

दोस्रो परिवार महेशप्रसाद गुप्ताको हो। उनी भारतमै छन्।

तर उनका छोरा-बुहारी र छोरीले नेपाली नागरिकता छ। राजेशकुमार गुप्ता र उनकी श्रीमती मिनादेवीले बाराबाट २०६९ असार ११ गते नागरिकता लिएका प्रहरीले खुलाएको छ। उनीहरू हाल कंलकीमा मिठाइ पसल सञ्चालन गर्दै आइरहेका थिए।

त्यस्तै महेश गुप्ताका अर्का छोरा भरत गुप्ताले बारा पिपरा गाउँपालिका-६ बाट २०६३ फागुन ७ गते नागरिकता लिए। उनकी श्रीमती स्नेहलता बारा निजगढ नगरपालिका-८ बाट २०६९ फागुन ९ गते नागरिकता बनाइन्।

महेशकी छोरी बिजयलताले २०६७ सालमा नेपाली नागरिकता बनाएकी थिइन्। उनी भने पक्राउ परेकी छैनन्। उनीसँगै उनका श्रीमान राजेशकुमार गुप्तालेसमेत नेपाली नागरिकता बनाए। उनीहरूको छोराछोरीको अनुसन्धान भइरहेको एसएसपी केसीले बताए। उनीहरूसँग नेपाली र भारतीय दुबै नागरिकता छ। पक्राउ परेका सबै व्यक्तिको सन् २०२१ देखि हालसम्म भारतीय मतदाता नामावलीमा विवरण रहेको पाइएको प्रहरीको भनाइ छ।

उनीहरूसँग नेपाली नागरिकता मात्र नभई यही लामो समयदेखि व्यवसाय गर्दै आएको पाइएको छ। नेपालमा विभिन्न स्थानमा घर-जग्गा खरिद गरी बस्दै आएको एसएसपी केसी बताउँछन्।

उक्त व्यक्तिहरूको नाममा विभिन्न ठाउँमा सम्पति रहेको खुलेको छ।भरतप्रसाद गुप्तासँग काठमाडौं नगरपालिका -३१ मा एउटा ८ तले घर छ। त्योसँगै गोपाल गुप्ता, भरत गुप्ता, सुजितकुमार गुप्तासमेत ४ जनाको नाममा काठमाडौं सौखेल-६मा किंता नं २५ र ४७३ को क्षेत्रफल ६६६.६९ र १५८ वर्ग मिटर जग्गा रहेको तथ्यांक प्रहरीले सार्वजनिक गरेको छ।

त्यस्तै स्नेहलता गुप्ताको काठमाडौं महानगरपालिका वडा-२४ मा किंता नं ४०८को ९७.३६ वर्गमिटर क्षेत्रफलको जग्गा भेटिएको छ। ज्ञानमति देवि गुप्ताको नाममा काठमाडौं नगरपालिका वडा-१० मा किंता नं १४० क्षेत्रफल ११७.२४ बर्गमिटर, कित्ता नं ५२९ क्षेत्रफल १२.९५ वर्गमिटर गरी जम्मा क्षेत्रफल १३०.१९ वर्गमिटरको जग्गा रहेको पाइएको छ।

‘यी सबै सम्पति सरकारको नाममा जानेछ,ʼ एसएसपी केसीले भने।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूबाट मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, बसाईसराई भएको प्रमाणपत्र, भारतीय नागरिक भएको सिफारिस पत्र, भारतीय सवारी चालक अनुमति पत्र, भारत सरकार आयकर विभागको कार्ड, भारतीय पासपोर्ट, भारतीय आधर कार्ड बरामद भएको छ।

प्रतिकृया दिनुहोस्