×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

रिजवान र शफिकको शतकमा पाकिस्तानको कीर्तिमानी जित

रिजवान र शफिकको शतकमा पाकिस्तानको कीर्तिमानी जित

काठमाडौं - आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले  जित हासिल गरेको छ । मंगलबार हैदरावादमा भएको खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हराएको हो ।

श्रीलंकालाई हराउँदै पाकिस्तानले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । श्रीलंकाले प्रस्तुत गरेको ३ सय ४५ रनको लक्ष्य पाकिस्तानले १० बल अगावै मात्र ४ विकेट गुमाएर पुरा गर्यो । 

पाकिस्तानका लागि मोहमद रिजवान र अब्दुल्ला शफिकले शतकीय इनिङ्स खेले । रिजवानले नटआउट १ सय ३१ रनको इनिङ्स खेल्दा शफिकले १ सय १३ रन बनाए । सउद शकिलले ३१, इमाम उल हकले १२ र बाबज आजम १० रनमा आउट भएका थिए । इफ्तिखार अहमद २२ रनमा अविजित रहे । श्रीलंकाका दिलशान मदुशंकाले दुई तथा महेश तिक्साना र माथिसा पथिरानाले समान एक एक विकेट लिए ।
सुरुआती ब्याटिङ गरेको श्रीलंकाले ९ विकेटको क्षतीमा ३ सय ४४ रन बनायो । 

कुशल मेन्डिस र सदिरा समरबिक्रमाको शतकीय इनिङ्समा श्रीलंकाले ठुलो स्कोर खडा गरेको थियो । पथुम निसान्काले ५१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । धनन्जय डी सिल्भाले २५, दासुन सनाकाले १२ र डुनिथ वेललेजले १० रन बनाए । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

पाकिस्तानका हसन अलीले सर्वाधिक ४ विकेट लिए । हरिस राफले २ तथा साहेन साह अफ्रिदी, मोहमद रिजवान र सादब खानले समान एक एक विकेट हात पारे । 

पाकिस्तानले दुई खेलमा जित निकाल्दै चार अंक जोडेको छ । पहिलो खेलमा साउथ अफ्रिकासँग हारेको श्रीलंका अंक विहीन छ । 

मंगलबारनै भएको पहिलो खेलमा इङ्ल्याण्डले बंगलादेशलाई १ सय ३७ रनले हराउँदै पहिलो जित दर्ता गर्यो । इङ्ल्याण्डले प्रस्तुत गरेको ३ सय ६५ रनको लक्ष्य पछ्याएको बंगलादेशले ४८ दशमलव २ ओभरमा २ सय २७ रनमा अलआउट भयो । 

बंगलादेशका ओपन लिटोन दासले ७६ र मुस्फिकुर रहीमले ५१ रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहेन । इङल्याण्डका रिस टापले सर्वाधिक ४ विकेट लिएका थिए । क्रिस वोक्सले दुई तथा साम कुरेन, मार्क वुड, आदिल रसीद र लियान लिविन्गस्टोनले समान एक एक विकेट लिएका थिए ।

पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले डेविड मालनको १ सय ४० रनको मदतले सो रन बनाएको थियो । जोय रुटले ८२ रन जोडेको इनिङ्समा जोनी ब्रेस्टोले ५२ बनाएका थिए । 

बंगलादेशका महेदी हसनले सर्वाधिक ४ र सोरिफुल इस्लामले ३ विकेट लिएका थिए ।

इङ्ल्याण्डले जारी विश्वकपमा पहिलो जित दर्ता गरेको छ । लगातार दोस्रो खेलमा जित निकाल्न बंगलादेश भने असफल भएको छ ।
 

प्रतिकृया दिनुहोस्