काठमाडौ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशमशेर राणाविरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको छ। अदालत स्रोतका अनुसार उनीहरूविरुद्ध आजै पक्राउ पुर्जी जारी हुन सक्ने सम्भावना छ।
गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका मिश्र र राणा हाजिरी जमानीमा छुटेका थिए। तर, पछि बयानका लागि अदालतमा उपस्थित नभएपछि उनीहरू फरार मानिएका छन्।
मिश्र र राणा सम्पर्कविहीन भएपछि उनीहरूलाई जिम्मा लिने तीन कानुन व्यवसायी र एक स्वकीय सचिवलाई अनुसन्धान अधिकृतले २५-२५ हजार रुपैयाँ जरिवाना तिराइसकेका छन्।
बिहीबार दुर्गा प्रसाईँसहितका ३९ जनालाई थुनछेक आदेश जारी भए पनि त्यसमा मिश्र र राणाबारे केही उल्लेख थिएन। अदालतले "अभियोग दर्ता भएका दिन उपस्थित प्रतिवादीलाई बयानका लागि पेस गर्नू र अनुपस्थित तथा फरार रहेकाको हकमा कानुनबमोजिम पक्राउ पुर्जी जारी गर्नू" भनी आदेश दिएको स्रोतले बतायो।
स्रोतका अनुसार, अहिलेसम्म मिसिल बयान र थुनछेक प्रक्रियामा केन्द्रित भएकाले पुर्जी जारी गर्न ढिलाइ भएको हो। यद्यपि, सम्बन्धित फाँटले पुर्जी जारी गर्ने प्रक्रिया अघि बढाइसकेको छ।