काठमाडौं- प्रमुख दलका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शीर्ष नेताहरुबीच भेटवार्ता भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो। भेटवार्तामा नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे पनि सहभागी छन्।
भेटमा प्रधानन्यायाधीशको सिफारिस, संसदीय समिति गठन लगायत विषयमा छलफल भएको बताइएको छ।
१४ महिनादेखि रिक्त रहेको प्रधानन्यायाधीश नियुक्तिका लागि दलहरुबीच सहमति जुट्न सकेको छैन। जसकारण केही दिन अगाडि बसेको संवैधानिक परिषद्को बैठक प्रधानन्यायाधीश नियुक्ति सिफारिसको निर्णय नगरी स्थगित भएको थियो।
नेकपा एमालेले संसदीय समिति गठन नगरी प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गरिनुको कुनै अर्थ नहुने बताउँदै आएको छ। प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा संवैधानिक परिषद्का सदस्य रहेका एमाले अध्यक्ष ओलीले संसदीय सुनुवाइ विशेष समिति गठन गरेर मात्रै प्रधानन्यायाधीश नियुक्ति सिफारिस हुनुपर्ने अडान राख्दै आएका छन्।