काठमाडौँ - चर्चित गायक नितेशजंग कुँवर हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँ फर्किएका छन् ।‘द रिबर्थ’ सांगीतिक टूरका लागि अस्ट्रेलिया उडेका उनि हङकङ ट्रान्जिटमा पासपोर्ट हराएपछि उनी काठमाडौँ फर्किनु परेको हो ।
६६ घण्टा ट्रान्जिटमै बिताएका उनले पासपोर्टको खोजीका लागि हङकङ विमानस्थल र नेपाली कन्सुलेटको मद्दत मागे पनि नभेटेपछि काठमाडौँ फर्कनु परेको छ । कुँवर हङकङबाट नेपाल फर्किएको उनकी प्रेमिका तथा गायिका समृद्धि राईले सामाजिक सञ्जालबाट सार्वजनिक गरेकी छन् । राईका अनुसार कुँवर, आमा र उनीसँग अस्ट्रेलियातर्फ उडेका थिए । कुँवर नेपाल फर्किए पनि आमा र समृद्धि चाहिँ अस्ट्रेलिया उडेका छन् ।
कुँवर नेपाल फर्किएको कारण उनको ‘रिबर्थ’ अस्ट्रेलिया टूर प्रभावित बनेको छ । मेलबर्नको कन्सर्ट पोस्टपोन्ड भए पनि अन्य सहरको कार्यक्रम भने निर्धारित समयमा हुने राईको भनाई छ । हराएको पासपोर्ट पुनः बनाएर फर्किन कुँवर काठमाडौँ आइपुगेको राईले उल्लेख गरेकी छन् ।