×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

सुदूरपश्चिम

महानायक राजेश हमालको नाममा लाखौँ भ्रष्टाचार: अध्यक्षसहित ४ विरुद्ध अख्तियारको मुद्दा

महानायक राजेश हमालको नाममा लाखौँ भ्रष्टाचार: अध्यक्षसहित ४ विरुद्ध अख्तियारको मुद्दा

काठमाडौं - नेपाली चलचित्रका महानायक राजेश हमालको नाम र तस्बिर दुरुपयोग गरी अछामको ढकारी गाउँपालिकामा लाखौँ रुपैयाँ भ्रष्टाचार भएको खुलासा भएको छ। हमालको वृत्तचित्र (डकुमेन्ट्री) निर्माण गर्ने बहानामा सरकारी बजेट हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार गाउँपालिका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। राजेश हमालको व्यक्तिगत निर्देशन र अभिनय रहने भन्दै १५ लाख रुपैयाँ बजेट छुट्याइएकोमा १२ लाख ७७ हजार २५० रुपैयाँ भुक्तानी गरी सार्वजनिक सम्पत्तिको दुरुपयोग गरिएको अख्तियारको ठहर छ।

अनुसन्धानका क्रममा सार्वजनिक खरिद ऐन र नियमावलीको गम्भीर उल्लङ्घन गर्दै बिना कुनै प्रतिस्पर्धा सोझै खरिद सम्झौता गरिएको पाइएको छ। अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, कानुनी सीमाभन्दा बढी पेस्की दिइएको, बैंक ग्यारेन्टी समेत नलिई रकम भुक्तानी गरिएको र पेस गरिएका बिलहरू समेत नक्कली र शङ्कास्पद देखिएका छन्। कामै नगरी सरकारी रकम कुम्ल्याउने उद्देश्यले योजनाबद्ध रूपमा यो भ्रष्टाचार गरिएको आयोगको दाबी छ।

यस प्रकरणमा गाउँपालिका अध्यक्ष साउदसँगै निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल साउद र आर.जे. ट्वान्टी फोर न्युज एवं नव इन्द्रेणी फाउन्डेसनका अध्यक्ष रामजी लम्साललाई प्रतिवादी बनाइएको छ। अध्यक्ष साउदले आफ्नो पदको दुरुपयोग गरी व्यक्तिगत लाभ पुर्‍याउने बदनियत राखेको भन्दै उनलाई थप सजायको माग गरिएको छ भने अन्य प्रतिवादीहरूबाट बिगो असुलउपर गरी भ्रष्टाचार निवारण ऐन बमोजिम हदैसम्मको सजाय माग दाबी गरिएको छ।

प्रतिकृया दिनुहोस्