काठमाडौं- आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। हाल लुम्बिनी प्रदेश, वागमतीलगायत केही प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यसैगरी, राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाग्मती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।
देशका धेरै स्थानहरूमा वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागले जनाएको छ। साथै विभागले नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन र यातायात क्षेत्र समेत प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।