×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

टी-२० विश्वकपमा नेपालले पहिलो खेल आज नेदरल्यान्डससँग खेल्दै

टी-२० विश्वकपमा नेपालले पहिलो खेल आज नेदरल्यान्डससँग खेल्दै

काठमाडौं - अमेरिका र वेस्ट इण्डिजमा जारी आइसिसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज पहिलो खेलमा नेदरल्याण्ड्सको सामना गर्दैछ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार मंगलबार राति ९ः१५ देखि अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा सुरु हुनेछ । 

जारी विश्वकपमा समूह ‘डी’ मा रहेका नेपाल र नेदरल्याण्ड्सको यो पहिलो खेल हो । दुवै टिम जितका साथ विश्वकपको सुरुवात गर्न चाहन्छन् । छैटौँपटक विश्वकप खेल्न लागेको नेदरल्याण्ड्सले अहिलेसम्म विश्वकपमा कूल २३ खेल खेलेको छ, जसमा उसले ९ मा जित, १३ मा हार तथा एक खेलमा अंक बाँडेको इतिहास छ । 

विश्वकपमा नेदरल्याण्ड्सको जित प्रतिशत ४०.९० रहेको छ । यस्तै, विश्वकपमा नेपालको जित प्रतिशत ६६.६६ रहेको छ । नेपालले सन् २०१४ को विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेकाले जित प्रतिशत पनि राम्रो बनाएको हो । सो विश्वकपमा नेपालले तीन खेलमध्ये दुईमा जित र एक खेलमा हार बेहोर्यो । नेपाल यसपटक समूह चरण पार गर्ने लक्ष्यमा छ । त्यसका लागि नेपालले नेदरल्याण्ड्सलाई हराउँदै सुखद यात्रा गर्नुपर्नेछ । 

हेड टु हेडमा कडा टक्कर 

हालसम्मको नतिजा हेर्दा नेपाल र नेदरल्याण्ड्सबीच कडा प्रतिस्पर्धा देखिएको छ । अहिलेसम्म यी दुई टिमले १२ टी–२० आईमा एकअर्काको सामना गरेका छन्, जसमा नेदरल्याण्ड्सले ६ र नेपालले ५ खेल जितेको विगत छ । यी दुई टिमबीचको एक खेल भने वर्षाका कारण रद्द भएको छ । विश्वकपमा भने नेपाल र नेदरल्याण्ड्स पहिलोपटक एकअर्काको सामना गर्न लागेका हुन् । 

प्रतिकृया दिनुहोस्