×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चाडबाड लक्षित यातायात व्यवस्थापन र सडक सुरक्षामा मन्त्री घिसिङको विशेष चासो: २४सै घण्टा सडक जानकारी र गुनासो सुनुवाइका लागि निर्देशन

चाडबाड लक्षित यातायात व्यवस्थापन र सडक सुरक्षामा मन्त्री घिसिङको विशेष चासो: २४सै घण्टा सडक जानकारी र गुनासो सुनुवाइका लागि निर्देशन

काठमाडौं - भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले आगामी चाडबाडलाई लक्षित गरी यातायात व्यवस्थापनलाई सहज बनाउन र सडक सुरक्षाका विषयमा आज सरोकारवाला निकायहरूसँग महत्त्वपूर्ण छलफल गरेका छन्। छलफलपश्चात् मन्त्री घिसिङले यात्रुहरूलाई सडकको अवस्थाबारे चौबिसै घण्टा जानकारी दिन, गुनासो सुन्न र त्यसको तत्काल व्यवस्थापन गर्न निर्देशन दिएका छन्।

उनले बाढीपहिरोले अवरुद्ध भएका सडकहरूलाई तत्काल सञ्चालनमा ल्याउन पनि निर्देशन दिए। बैठकमा काठमाडौं उपत्यकाबाट बाहिरिने सार्वजनिक सवारीसाधनहरूलाई नागढुङ्गा–सिस्नेरी–सुरुङमार्गबाट पठाउने र दशैं पछि ती सवारीसाधनहरूलाई सोही मार्गबाट प्रवेश गर्न दिने व्यवस्था मिलाउनेबारे छलफल भएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ।

बैठकले काठमाडौं उपत्यकाको नयाँ बसपार्क र मुलुकका विभिन्न राजमार्गहरूमा सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउन नेपाल प्रहरीको गस्ती र संख्या बढाउन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ।

राजमार्गहरूको कमजोर अवस्था र यात्रुवाहक सवारीसाधनको आवागमनलाई प्राथमिकता दिँदै बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दशैं अवधिभरका लागि ठूला भारवहन सवारीसाधनहरू (१२ चक्के र सोभन्दा माथि) सञ्चालन नगर्न/नगराउन अनुरोध गर्ने निर्णय गरिएको छ। उक्त खण्डमा खाद्यान्न लगायतका अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीसाधनलाई भने निरन्तर आवागमनको व्यवस्था मिलाइनेछ।

सडक विभागलाई मुलुकभरका मुख्य सडकहरूलाई चुस्त दुरुस्त राख्न, सुधार गर्न, पहिरोजन्य विपद् व्यवस्थापनका लागि आवश्यक सामग्री र यन्त्रको व्यवस्थापन गर्न, बुटवल–नारायणगढ सडकको दाउन्ने खण्डमा २४सै घण्टा दुईतर्फी यातायात सञ्चालन गर्न, नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा भएको अवरोध (पहिरो) हटाई तत्काल यातायात सञ्चालनमा ल्याउन र तातोपानी नाका जोड्ने मुख्य सडक दशैंअगाडि सञ्चालनमा ल्याउने गरी कार्य गर्न/गराउन निर्देशन दिइएको छ।

आम नागरिकलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गर्दै सार्वजनिक सूचना जारी गर्ने निर्णय पनि भएको छ। मुलुकभरको सडकको अवस्था र सुरक्षालाई व्यवस्थित गर्न २४सै घण्टा सञ्चालन हुने गरी ‘फोकल पर्सन’ समेतको व्यवस्थापन गर्न/गराउन सडक विभागलाई निर्देशन दिइएको छ।

आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, नेपाल प्रहरीका प्रतिनिधि र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्