काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताका पक्षमा नयाँ कामको सुरुवात गर्ने अठोट लिएको बताएका छन् । राष्ट्रिय योग दिवसको अवसरमा भक्तपुरको सानो ठिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले तेस्रो कार्यकाल प्रधानमन्त्री भएपछि जनता र राष्ट्रको पक्षमा केही नयाँ काम गर्ने अठोट लिएको बताएका हुन् ।
‘प्रधानमन्त्रीको रूपमा यो कार्यकालमा जनता र राष्ट्रको पक्षमा राम्रा केही नयाँ काम सुरुवात गर्ने अठोटसहित शपथग्रहण गरेको छु,’ प्रधानमन्त्री प्रचण्डले सम्बोधनको क्रममा भने । उनले ती राम्रा काम के हुन् भन्ने चाहिँ खुलाएनन् ।
उनले मानिसलाई मानसिक रूपले तन्दुरुस्त बनाउन विद्यालय तहमा नै योग शिक्षाको अध्ययन गराउनुपर्ने बताए । विद्यालय र विश्वविद्यालय तहमै योग शिक्षालाई प्राथमिकता दिएर अघि बढाउन सके नेपालबाट संसारभर योग प्रशिक्षक दिन र नेपाललाई नयाँ पहिचान दिन सक्ने उनले उल्लेख गरे ।
भौतिक विकासले मात्र मानिस सम्पन्न बन्न नसक्ने भन्दै उनले योग शिक्षाबाट नै आध्यात्मिक, मनोवैज्ञानिक चेतनाको विकास अपरिहार्य भएको बताए । मानिसको आध्यात्मिक चिन्तन, मनोविज्ञान, ध्यान, योगको कमीका कारण आइरहेका समस्या समाधान गर्न योग, ध्यान र साधनाको आवश्यक रहेको उनको भनाइ छ ।