गुल्मी- आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि गुल्मी २ मा रोचक निर्वाचन हुने देखिन्छ । तत्कालिन एमालेका दुई नेताबीच चुनावी भिडन्त हुने देखिन्छ ।
नेकपा एकीकृत समाजवादी पार्टीका सचिव तथा पूर्व नेकपा एमालेका नेतृ रामकुमारी झाँक्री र एमाले सचिव गोकर्ण विष्टबीच आउने निर्वाचनमा भिडन्त हुने देखिएको छ ।
०५६ देखि यो क्षेत्रमा चुनाव लड्दै आएका बिष्टलाई ०६४ मा माओवादीका सागर थापाले हराएका थिए । अरु सबै चुनाव बिष्टले जितेका छन् । ०७४ मा वाम गठबन्धनको बेला त उनले १४ हजारभन्दा बढी मत अन्तरले जितेका थिए ।
त्यो बेला एमालेको साथमा रहेको माओवादी पाँचदलीय गठबन्धनमा छ भने एकीकृत समाजवादी, एमालेबाट फुटेर बनेको दल हो । सत्तारुढ गठबन्धनमा रहेका दलहरु सबै एकातिर हुँदा पनि एमालेको भोट हाराहारी रहेको भन्दै एक नेता भन्छन्, ‘२० वर्षभन्दा बढी समयदेखि उहाँ यो क्षेत्रसँग जोडिनु भएको छ, योजनाहरु ल्याउनु भएको छ, गाह्रो साह्रो पर्दा हेर्नु भएको छ । उहाँको ३/४ हजार पर्सनल भोट छ, त्यसकै बलमा जित्न सक्नुहुन्छ ।’
विद्यार्थीदेखि पार्टीको केन्द्रीय राजनीतिमा पुगेकी झाँक्रीले पछिल्ला चुनावहरुमा विष्टका लागि भोट मागिन् । तर अहिले विष्ट र झाँक्रीको पार्टी मात्र फेरिएको छैन, चुनावी मैदानमा एकअर्कालाई हराउन तम्सिएका छन् ।
एमालेमा उम्मेदवार बनाउ सचिव विष्टको नाम सिफारिस भएको छ भने रामकुमारी, सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बन्ने दौडमा छिन् । झाँक्री भन्छिन्, ‘मेरो उम्मेदवारी त टुंगिएको छैन, तर हामी आमने सामने भयौं भने हार्दिकतापूर्वक प्रतिस्पर्धा गर्छौं । दाइलाई पनि दुनो ढल्यो भागमा, धेरै बल नगर्नुस् भन्न चाहन्छु ।’
३० वैशाखको स्थानीय चुनावमा वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतका आधारमा एमाले सबभन्दा अगाडि छ । एमालेले ३१ हजार २५३ मत पाउँदा कांग्रेसले २९ हजार ८२१ मत पाएको छ ।
माओवादी केन्द्रको १८४१ र एकीकृत समाजवादीको जम्मा ६५८ मत छ । एकीकृत समाजवादीका नेताहरु भने गठबन्धन एक ठाउँमा उभिने हो भने ५र६ हजार मतले अगाडि हुने दाबी गर्छन् ।