विराटनगर - लघुवित्त संस्थाहरूले सदस्यलाई यातना दिन थालेको भन्दै पीडितहरू संस्थागत हुन थालेका छन्। संस्थाले असुल्ने चर्को ब्याजदर र सहुलियतका नाममा विपन्नलाई झन् विपन्न बनाउने योजनाविरुद्ध समूहकै सदस्यले आवाज उठाउन थालेका हुन्।
कोरोनाले थलिएको बजारमा सानो लगानीका साथ व्यवसाय सञ्चालन गर्दै आएका सदस्यलाई लघुवित्त संस्थाले कठिन समयमा पनि रकम असुल्ने नाममा प्रताडित गर्ने गरेको गुनासो छ। बचत र ऋण असुलीका लागी संस्थाका कर्मचारीले घरायसी सामानसमेत जफत गर्ने गरेको भन्दै सदस्यहरू यतिबेला दौडधुप गरिरहेका छन्। संस्थाले अनावश्यक दबाब दिएको भन्दै केही सदस्य प्रशासनको सम्पर्कमा समेत पुगेका छन्।
गहनासमेत लिन्छन्
विराटनगर महानगरपालिका–८, हरिहर चोकमा मासिक चार हजार तिर्ने गरी सटर भाडामा लिएर चिया पसल सञ्चालन गर्दै आउनुभएकी रेखा राजवंशीको पसलमा बिहान ६ बजे नै लघुवित्त समूहका सदस्यले घेरा हाले। सानो टिनको सटरमा भक्का, आलुचप, कचौरी र चिया नास्ता बिक्री गरेर दुई जना छोरीलाई नजिकैको सामुदायिक विद्यालयमा पढाउँदै गुजारा चलाउनुभएकी उहाँसँग समूहका सदस्यले मासिक किस्ता नतिरेको भन्दै विवाद गर्न सुरु गरे। समयमा किस्ता नबुझाएकोले लघुवित्तले अरू सदस्यलाई अप्ठ्यारो पारेको भन्दै जसरी भए पनि पैसा निकाल्न दबाब दिए।
धेरै समयको भनाभनपछि उपाय निकालियो जे छ त्यही लैजाने। रेखा दगुर्दै गएर एउटा पुरानो थैली समुहका सदस्यलाई जिम्मा लगाउनुभयो। थैली जिम्मा लगाउँदै गर्दा उहाँका आँखा रसाएका थिए। जेठी छोरी अमृता राजवंशीका विवाहका लागी भनेर जोडेको १० तोला चाँदीका गहनाको पोको जिम्मा लगाएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “केहीगरी पनि मैले पैसा निकाल्न सकिन, छोरीको विवाहका लागि राखेको गहना लिएर जानुहोस्। बेचेर आएको पैसाले किस्ता तिरिदिनु।”
लघुवित्त संस्थामा लागेर राजवंशीले ऋण लिन थालेको आठ वर्ष भयो। अगाडिको समयमा नियमित किस्ता बुझाउँदै आएको तर पछिल्ला दिनमा भने किस्ता बुझाउन नसकेको उहाँले बताउनुभयो। चिया पसलबाट पहिले मुस्किलले दैनिक गुजारा चलेको तर कोरोनाको समयपछि त्यो पनि हुन छाडेकोले समस्या भएको छ। संस्थाले असुल्ने चर्को ब्याजदर र ऋण असुलीका लागि दिने अनावश्यक दबाबका कारण घरायसी कलहसमेत बढेको उहाँको गुनासो छ।
किस्ता तिर्ने जोहो खोज्दा काश्मीरमा बेचिए
ग्रामथान गाउँपालिकाबाट विराटनगरका बजारमा दैनिक राजमिस्त्रीको काम गर्दै आउनुभएका भागीरथ मण्डलले लघुवित्तको किस्ता तिर्न भोगेको कथा अझैं दर्दनाक छ।
ज्यालादारीमा राजमिस्त्रीको काम गर्ने मण्डललाई श्रीमतीले लघुवित्तबाट लिएको ऋण तिर्न रोजगारीबाट आएको रकमले अपुग भएपछि सँगै काम गर्ने साथीले राम्रो काम लगाइदिने प्रलोभनमा भारतको काश्मीरमा पु-याएर बिक्री गरिदिए। मासिक ३० हजार भारु रकम तलब पाइने भन्दै सिक्किममा काम गर्ने भनेर मण्डलसहित अन्य चार जनालाई झुक्याएर दिल्ली हुँदै हिंसाग्रस्त काश्मीरमा पु-याएर घरेलु मजदुरको रूपमा बिक्री गरेर टाप कसे।
आजको गोरखापत्र दैनिकमा खबर छ ।