×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्राधिकरणद्वारा विद्युतका कङ्क्रिट पोल उत्पादन सुरु

प्राधिकरणद्वारा विद्युतका कङ्क्रिट पोल उत्पादन सुरु

नेपाल विद्युत प्राधिकरणले मोरङको टङ्किसिनुवारीबाट विद्युतका कङ्क्रिट पोल उत्पादन सुरु गरेको छ । प्राधिकरणको इन्जिनियरिङ सेवा निर्देशनालयअन्तर्गत कङ्क्रिट पोल प्लान्ट आयोजनाले टंकिसिनुवारी प्लान्टको निर्माण सम्पन्न गरी परीक्षण उत्पादन सुरु गरेको हो ।

प्लान्टबाट विद्युत वितरणमा प्रयोग हुने ८, ९ र ११ मिटरका पोलहरु उत्पादन हुने छन् । १४ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण गरिएको प्लान्टको वार्षिक पोल उत्पादन क्षमता ३३ हजार ५ सय ८० थान रहेको छ ।

इन्जिनियरिङ सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले शुक्रबार परीक्षण उत्पादनको निरीक्षण गरी नियमित रुपमा पूर्ण क्षमतामा पोल उत्पादन सुरु गर्न आयोजना व्यवस्थापनलाई निर्देशन दिए । उनले प्लान्टबाट पोल उत्पादन सुरु भएपछि टाढाबाट पोल ल्याउँदा लाग्ने ढुवानी खर्च र समय बचत हुने उल्लेख गरे ।

आयोजना प्रमुख परमार धीरसेनका अनुसार कोभिड–१९महामारीको नियन्त्रण तथा रोकथाकका लागि जारी गरिएको निषेधाज्ञा र भारतबाट मालसामान तथा प्राविधिक आउन ढिलाई हुँदा परीक्षण उत्पादन निर्धारित समयभन्दा ढिलो भएको हो ।

उनले परीक्षण उत्पादनमा प्राविधिक समस्या नआएमा प्लान्ट केही दिनपछि पूर्ण क्षमतामा चल्ने जानकारी दिP . प्लान्टबाट उत्पादित पोलहरु मुख्य रुपमा प्रदेश नं. १ र २ का जिल्लाहरुमा आपूर्ति गरिने छ ।

प्राधिकरणले अहिले तनहुँको कोत्रे र पर्साको अमलेखगञ्जबाट कंक्रिट पोल उत्पादन गर्दै आएको छ भने कैलालीको लम्कीमा प्लान्ट निर्माणाधीन छ ।

 
 

प्रतिकृया दिनुहोस्