काठमाडौं- आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक क्रिकेट सिरिजमा नेपालले स्कटल्याण्डलाई १२९ रनको लक्ष्य दिएको छ । स्कटल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको नेपालले ३५ ओभर ५ बलमा अलआउट हुँदै १२८ रन मात्रै बनाउन सक्यो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ४० रन बनाए । यस्तै कप्तान सन्दीप लामिछानेले २२, विनोद भण्डारीले १३, रोहित पौडेल र देव खनालले समान १० रन जोडे पनि अन्य कुनै पनि व्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् ।
बलिङतर्फ स्कटल्याण्डका हाम्जा ताहिरले चार, मार्क वाटले तीन, गाभिन मेनले दुई र क्रिस्टोफर म्याकब्रिडले एक विकेट लिए । स्कटल्याण्डमा जारी सिरिजमा नेपालसहित स्कटल्याण्ड र नामिबिया सहभागी छन् । नेपालले यसअघि आफ्ना तीन खेलमध्ये दुईमा हार व्यहोरेको छ ।
पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपालले दोस्रो खेलमा स्कटल्याण्डमाथि जित हात पारेको थियो । शनिबार भएको तेस्रो खेलमा नेपाल नामिबियासँग पराजित भयो ।
लिग–२ मा १९ खेलबाट १७ अंक जोडेको नेपाल अंकतालिकाको छैटौँ स्थानमा छ । २३ खेलबाट ३२ अंक जोडेको स्कटल्याण्ड दोस्रो स्थानमा छ ।