काठमाडौँ - विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष समीक्षा बाँस्कोटा र पूर्वमहासचिव रञ्जु दर्शनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक उम्मेदवार बन्न आवेदन दिएका छन्।
गत १४ मंसिरमा विवेकशील साझा र रास्वपाबीच एकता भएको थियो। एकता प्रक्रियाबाट आएका नेताहरूलाई रास्वपाले हालसम्म केन्द्रीय समितिमा समेटिसकेको छैन। यद्यपि, आगामी प्रतिनिधि सभा निर्वाचनका लागि बाँस्कोटा र दर्शना दुवैले समानुपातिकतर्फ उम्मेदवार बन्ने इच्छा देखाउँदै आवेदन दिएका हुन्।
उनीहरू दुवैले 'खस आर्य' क्लस्टर अन्तर्गत बागमती प्रदेशबाट समानुपातिक उम्मेदवारका लागि आफ्नो नाम दर्ता गराएका छन्।
रास्वपाले उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूका लागि अनलाइनमार्फत आवेदन दिन आह्वान गरेको थियो। सोही प्रक्रिया अन्तर्गत इच्छुकहरूको प्रारम्भिक नामावली गएराति सार्वजनिक गरिएको छ। समानुपातिकतर्फको अन्तिम नामावली भने आगामी १४ पुसमा सार्वजनिक गरिने रास्वपाले जनाएको छ।