काठमाडौं - वायु सेवा सञ्चालक सङ्घले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान स्थगित गरेको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खुम्बु पासाङ ल्हामु गाउँपालिकालगायतका स्थानीय समूहले धम्की दिएको भन्दै सङ्घले त्यस क्षेत्रमा हुने सबै हेलिकोप्टर तथा जहाजका उडान अनिश्चितकालका लागि स्थगन गरेको छ ।
सङ्घले हिजो विज्ञप्ति निकालेर सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म उडान स्थगन गरिएको जनाएको हो । सङ्घका प्रथम उपाध्यक्ष प्रतापजंग पाण्डेका अनुसार हिजो त्यस क्षेत्रमा हुँदै आएका उद्धार, चार्टर तथा व्यावसायिक उडान स्थगन भएका हुन् ।
सगरमाथा राष्ट्रिय निकुञ्ज, खुम्बु पासाङल्हामु गाउँपालिकालगायत स्थानीय युवा समूह तथा सङ्घ संस्थाले निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थान संरक्षणमा चुनौती थपिएको भन्दै व्यावसायिक रूपमा यही जनावरी १ अर्थात गएको बुधवारदेखि हेलिकप्टर उडानमा प्रतिबन्ध लगाइएको थियो ।
हेलिकप्टर उडान प्रतिबन्ध सम्बन्धमा सम्बन्धित पदाधिकारीसँग सङ्घका पदाधिकारीले पटकपटक वार्ता गर्दा पनि निष्कर्षमा पुग्न नसकेको र हाल खुम्बु क्षेत्रका हेलिप्याडमा झण्डा गाडी अवरोध सिर्जना गरिएको सङ्घले जनाएको छ ।