काठमाडौं - काठमाडौंमा जारी त्रिकोणात्मक सिरिजको दोस्रो भेटमा समेत नेपालले यूएईलाई हराएको छ । सिरिजको फाइनल पुगेको नेपालले लिग चरणका चारै वटा खेलमा जित निकाल्न सफल भएको छ ।
यूएईले प्रस्तुत गरेको १ सय ६५ रनको लक्ष्य पछ्याएको नेपालले ४ बल अगावै ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
नेपालको जितमा आसिफ शेखले शानदार अर्धशतक प्रहार गरे । सुरुवाती तीन ब्याट्सम्यानलाई सस्तैमा गुमाएर दबाबमा आएको नेपालको इनिङ्सलाई आशिफले कप्तान रोहित कुमार पौडेलसँग मिलेर उकासेका थिए ।
आसिफले ६२ रन बनाए । रोहित ४७ रनको योगदान गरे ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीको अर्को सम्झन लायक इनिङ्स खेले । नेपाललाई जितसम्म डोर्याएका दीपेन्द्रले १५ बलमा अविजित ४० रनको योगदान गरे । जसमा ६ चौका र १ छक्का सामेल छ । गुल्सन झा १ रनमा नटआउट रहे ।
यसअघि मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनायो ।
वृत्त्या अरविन्द र बासिल हमिदले समान ४५ रन बनाएको इनिङ्समा असिफ खानले १८ रन बनाएका थिए । खालिद साहले १२ रन बनाए । अन्यको दोहोरो अंकको स्कोर छुन सकेनन् ।
नेपालका सोमपाल कामी र रविनाश बोहराले समान २ तथा करन केसी र गल्सन झाले समान १ विकेट झारेका थिए ।