एजेन्सी - विश्व प्रख्यात प्रविधि कम्पनी एप्पलले आर्टिफिसियल इन्टेलिजेन्स च्याटबट च्याट जीपीटीमाथि बन्देज लगाएको छ । कम्पनीले हालै आफ्ना कर्मचारीहरुका लागि च्याट जीपीटी जस्ता आर्टिफिसियल इन्टेलिजेन्स टूलको प्रयोगमा रोक लगाएको हो ।
वास्तवमा एप्पलले आफ्नै एआई प्रविधिको विकास गर्नका लागि काम गरिरहेको छ र छिटै नै यसलाई पेस गर्न सक्दछ ।
स्मरण रहोस् यसअघि सामसुङले पनि हालै आफ्ना कर्मचारीहरुका लागि च्याट जीपीटीजस्ता आर्टिफिसियल इन्टेलिजेन्स टूलको प्रयोगमा बन्देज लगाइसकेको छ ।
वालस्ट्रिट जर्नलले एक दस्तावेज तथा स्रोतको हवाला दिंदै यसको जानकारी गराएको हो । रिपोर्ट अनुसार एप्पलले आफ्ना कर्मचारीहरुका लागि च्याट जीपीटी तथा अन्य बाहिरी एआई एपको उपयोगमा रोक लगाएको हो । च्याट जीपीटी जस्तै आफ्नै एआई टूलको विकास नहुन्जेल सम्मका लागि एप्पलले यस्तो कदम चालेको हो ।
त्यस्तै एप्पलले आफ्ना कर्मचारीहरुलाई सफ्टवेयर कोड अटोमेटिक गर्नका लागि माइक्रोसफ्ट स्वामित्वको गिटहबद्वारा उपयोग गरिएको एआई प्रोग्राम कोपाइलटको प्रयोग नगर्न चेतावनी दिएको छ । कर्मचारीहरुले गोपनीय जानकारी समेत उजागर गर्नसक्ने खतरा रहेको आँकलन गर्ने कम्पनीले यस्तो कदम चालेको हो ।