×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज रातिबाट राष्ट्रपति निर्वाचनको प्रचार–प्रसार गर्न बन्द

आज रातिबाट राष्ट्रपति निर्वाचनको प्रचार–प्रसार गर्न बन्द

काठमाडौं- आज मध्यरातिबाट राष्ट्रपति निर्वाचनको प्रचार–प्रसार गर्न निषेध गरिँदै छ । निर्वाचन आयोगले यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका आज फागुन २२ गते राति १२ बजेदेखि मतदानको दिन मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने जनाएको हो ।

यो निषेधावधि सम्बन्धित राजनीतिक दल, उम्मेदवार, मतदाता, सञ्चारकर्मी र सम्बद्ध सबैलाई लागु हुने आयोगले जानकारी गराएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था गरिएको छ ।

आयोगले निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त निषेधावधि लागु हुने जनाएको हो । यस अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन । यसका साथै उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न पनि पाइँदैन ।

सञ्चारमाध्यमबाट जीत/हारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न नहुने समेत आयोगले जनाएको छ । ‘मुलुकको सर्वाेच्च र गरिमामय पद राष्ट्रपतिको निर्वाचनमा निर्वाचन कानून र आचारसंहिताको पालना गराई निर्वाचनको स्वच्छता र मर्यादा कायम गर्न आयोग सम्बन्धित सबैलाई हार्दिक आग्रह गर्दछ,’ आयोगले भनेको छ ।

यही फागुन २५ गते राष्ट्रपतिको र आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुने कार्यतालिका रहेको छ । निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता पनि जारी गरिएको छ ।

प्रतिकृया दिनुहोस्