काठमाडौँ- अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी नहुने निर्णयसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमण योजना रद्द भएको छ।
यद्यपि प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको तिथी भने तय भएको थिएन। प्रधानमन्त्री देउवा आगामी महिना अमेरिका भ्रमणमा जाने सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देउवाकाे साे भ्रमणकाे कारण संसद्मा माग गर्दै विराेध जनाएकाे थियो।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनको अमेरिका भ्रमण योजना रद्द गरेको हो। नेपाल एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई पठाउने निर्णयसँगै तत्काललाई भ्रमण स्थगित गरिएकाे हो। नजिकिँदै गरेकाे प्रादेशिक र संघीय निर्वाचन सम्पन्न नहुँदासम्म प्रधानमन्त्री देउवा अमेरिका भ्रमणमा नजाने मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीले बताए।
एसपीपीमा सहभागी नहुने भनी अमेरिकालाई पत्रमार्फत जानकारी गराउने निर्णयसँगै उनको भ्रमण अहिले आवश्यक नभएको र यहाँ निर्वाचनको तयारी गर्न पर्ने भन्ने विषय उठ्दै आएको थियो।
मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उक्त सम्झौतामा सहभागी नहुन नेपाली सेनामार्फत अमेरिकालाई पत्र पठाइने पनि उल्लेख छ। यो निर्णयसँगै अब एसपीपी फिर्ता लिन औपचारिक प्रक्रिया सुरु हुनेछ।
नेपाल सन् २०१९ मा नै एसपीपीमा सहभागि भएको उल्लेख छ। नेपालले सन् २०१५ र २०१७ मा एसपीपीसम्बन्धी पत्र अमेरिकी पक्षलाई पठाएको खुलेपछि नेपालका प्रमुख राजनीतिक दलका साथै नेपाली सेना पनि विवादमा तानिएकाे छ। तर साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले एसपीपी अस्वीकार गर्ने निर्णय गरेपछि यसबारे विवाद मत्थर हुने देखिएकाे छ।
यसअघि सत्ता पक्ष र प्रतिपक्ष दुवैले एसपीपी सम्झौता कार्यान्वयन गर्न नसक्ने बताउँदै आएका थिए। सो सम्झौता फिर्ता लिन प्रतिनिधिसभाकाे अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशनसमेत दिइसकेकाे थियो।
एसपीपी अस्वीकार गर्न सरकारसमक्ष माग गर्दै विभिन्न राजनीतिक दलले संसद् र सडकबाट दबाब दिएपछि मन्त्रिपरिषदको बैठकले एसपीपीमा सहभागी नहुने निर्णय लिएको हो।
एसपीपीमा सहभागी हुन नेपाली सेनाले सन् २०१५ र सन् २०१७ मा अमेरिकी दूतावासमा पत्र लेखेको थियो। नेपाली सेनाको अनुरोधमा सन् २०१९ मा स्वीकार गरिएको अमेरिकी दूतावासले जनाएको थियो।
तर, सन् २०१५ मा एसपीपीमा सहभागी हुन पत्राचार गर्दा र सन् २०१९ मा स्वीकार गर्दाको अवस्था फेरिएको भन्दै राजनीतिक दलहरुले पनि विरोध गरेका थिए।
नेपाल सरकारले एसपीपी स्वीकार गर्दा उक्त कार्यक्रम अमेरिकाको सैन्य रणानीतिअन्तर्गत भएको हुनाले नेपाल सहभागी हुन नहुने आवाज उठेपछि तत्कालीन सरकारले होल्ड गरेर राखेको थियो। साेही क्रममा वर्तमान सरकारले एसपीपीमा सहभागी नहुने औपचारिक निर्णय लिएको हो।