बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले प्रतिष्ठानमा आफूले कुनै गल्ती र कमीकमजोरी गरेको भए कारबाही भोग्न तयार रहेको बताएका छन् । प्रतिष्ठानमा आएपछिको अवधिमा कुनैपनि कमीकमजोरी भएको भए संवैधानिक अख्तियारवाला निकायबाट छानबिन र अनुसन्धानका लागि सहयोग गर्ने र दोषी ठहरिए कारबाही भोग्न तयार रहेको बताएका हुन् ।
बुधबार (आज) एक प्रेस विज्ञप्ति गर्दै उपकुलपति गिरीले छानबिन एवं अनुसन्धानमा सत्यतथ्य पत्ता लगाउन सहयोग गर्ने र दोषीलाई करार भएमा कानुनबमोजिम हुन जाने कुरामा आफू तयार रहेको बताएका हुन् । प्रतिष्ठानमा आएको १५ महिनाको दौरानमा प्रतिष्ठान प्रति निष्ठावान् भइ कार्य गर्ने दौरानमा आफ्नो तर्फबाट कुनैपनि प्रकारको कमीकमजोरी भएको भए त्यस्ता कार्यको संवैधानिक अख्तियारवाला निकायलाई छानबिन एवम सत्यतथ्य पत्ता लगाउन सहयोग गर्ने विज्ञप्तिमा उल्लेख गरेका छन् ।
विज्ञप्तिमा उपकुलपति गिरीले आन्दोलनरत पक्षलाई वार्ताको लागि आह्वान पनि गरेका छन् । सबैले हातेमालो गरेर शंका उपशंकाहरु चिर्दै प्रतिष्ठानभित्रका सबै सरोकारवालहरु एक ठाउँमा आएर आपसी छलफल र सहकार्यको माध्यामबाट निकास दिनको लागि भन्दै उपकुलपति गिरीले वार्ताको आह्वान गरेका हुन् ।
‘प्रतिष्ठानमा सिर्जित वातावरण सम्हाल्न एकदिन पहिले मात्रै दिनभरको लामो यात्रापश्चात् थकित भएतापनि आन्दालनमा उठेका जायज र निःस्वार्थ मागहरु के कसरी द्रुतगतिमा सम्बोधन गर्न सकिन्छ भनेर रातअबेरसम्म र भोलिपल्ट बिहानैदेखि पदाधिकारी एवं प्रतिष्ठानका अन्य सरोकारवालाहरुसँग निरन्तर संवादमा रहेको थिएँ,’ उनले विज्ञप्तिमा भनिएको छ— ‘भौतिक र मानिस चिन्ताका कारण मेरो शारीरिक अवस्था कमजोर भएको महसुस गरिरहेको तथापि आफ्ना परिवारकै सदस्यहरुसँग संवाद प्रारम्भ गर्न ढिलाइ नहोस् भनि आतुर रहेको थिएँ ।’
उनले विज्ञप्तिमा १५ गते बोलाएको वार्ताको सन्दर्भलाई उल्लेख गर्दै आन्दोलनरत पक्षले उठाएको मागलाई प्रत्यक्ष सुन्दा संस्थागत सुदृढिकरणका लागि जायज रहेको अनुभूति भएको उल्लेख गरेका छन् । ‘यस प्रतिष्ठान प्रतिको तपाईंहरुको मायाँ र न्यायोचित निष्ठाप्रति उच्च सम्मान गर्दछु,’ विज्ञप्तिमा भनिएको छ— ‘तपाईंहरुकै साथ, सहयोग र हाल भइरहेको यस आन्दोलनको बलमा एकताबद्ध भइ देशकै गौरब र प्रतिष्ठा बोकेको यस प्रतिष्ठानको विगतको इतिहास, विद्यमान उचाइ र भविष्यमा अझ उचाइको नयाँ शिखरमा पुग्नेछ भन्ने विश्वास लिएको छु ।’
उनले आफू बिषम् परिस्थितिको दौरानमा आफूले पाएको संस्थाको जिम्मेवारी पूरा गर्न हेतु काठमाडौँमा रहेको पनि बताएका छन् । आर्थिक, नीतिगत र कोभिड सम्बन्धित कार्यका लागि विभिन्न सरकारी निकायहरुमा सहयोगका लागि विगत केही दिनदेखि तल्लीन रहेको विज्ञप्तिमा भनेका छन् ।
प्रतिष्ठानको सुधारको माग गर्दै विगत १५ दिनदेखि कर्मचारी, विद्यार्थी, चिकित्सक तथा नर्सहरु आन्दोलनमा छन् । उनीहरुले मंगलबारको वार्तामा उपकुलपतिले मदिरा सेवा गरेर आएको भन्दै वार्ता बहिस्कार गरेका थिए । मंगलबारसम्म रिले अनशनमा बसेका आन्दोलनरत पक्षले बुधबारदेखि पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
संयुक्त संघर्ष समितिले पदाधिकारीहरुसँग वार्तामा नबस्ने अडान राख्दै चारै जना पदाधिकारीहरुले राजीनामा दिनुपर्ने संयुक्त विज्ञप्ति जारी गरेका छन् । प्रतिष्ठानका चिकित्सक, विद्यार्थी, कर्मचारीहरु १५ दिनदेखि वीपी प्रतिष्ठानको पारदर्शीता र सुशानको माग राख्दै आन्दोलन भइरहेको छ ।