×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘न बजार छ, न मूल्य नै, मेहनत र लगानी खेर जाने चिन्ता छ’

‘न बजार छ, न मूल्य नै, मेहनत र लगानी खेर जाने चिन्ता छ’

काठमाडौँ- ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित दोखुका राजकुमार गुरुङले यस वर्ष झण्डै ३० क्विन्टल किवी उत्पादन गर्नुभएको छ ।

व्यावसायिकरुपमा केही वर्षदेखि किवीको खेती गर्दै आउनुभएका उहाँलाई नपाक्दासम्म रोग कीरा लाग्ला भन्ने चिन्तामा हुनुहुन्थ्यो । उहाँलाई किवी बोटमा पाक्न थाल्छ फेरि बजार र मूल्य नपाइएला भन्ने चिन्ता थपिन्छ । केही वर्षदेखि उहाँलाई यस्तै चिन्ता निरन्तर छ । यस वर्ष उत्पादन भएको मध्ये करिब चार क्विन्टल किवी बिक्री गरिसक्नुभएका किसान गुरुङलाई बाँकी रहेको कता लैजाने र कहाँ बिक्री गर्ने गर्ने भन्ने अन्योल छ ।

“जिल्ला बाहिरका आफन्तलाई फोन गरेर, छरछिमेकलाई अनुरोध गरेर अलि अलि बेचियो, बाँकी कता लैजाने भन्ने अन्योल छ, केही लागेन भने रक्सी पारौँला भन्ने छ”, उहाँले भन्नुभयो । उहाँले काठमाडाँैलगायत विभिन्न जिल्लामा रहेका आफन्त, साथीभाइलाई केही मात्रामा पठाउनुभयो । होलसेल प्रतिकिलो रु एक सय र फाट्टफुट्ट रु एक सय ५० का दरले बिक्री गरेको उहाँले बताउनुभयो । उत्पादन गरे पनि बजार र मूल्य नपाउँदा समस्या भएको उहाँले बताउनुभयो । यस्तै दोखुकै रमेश गुरुङले उत्पादन गरेको किवी ठूलो मात्रामा कुहिएर गयो । पाकेलगत्तै टिपेर राख्नुभएका गुरुङले बजार पाउनुभएन । बजार पाइएलाभन्दा भन्दै ठूलो मात्रामा कुहिएको उहाँले बताउनुभयो ।

यसरी बजार नपाउँदा उहाँहरु मात्रै नभई जिल्लाका दर्जनौँ किसान निरास छन् । यहाँका अधिकांश किसानले किवी खेतीबाट राम्रै आम्दानी हुन्छ भन्ने आशाले यसको व्यावसायिक खेती सुरु गरेका थिए तर उत्पादनसँगै बजारमा यसको माग घटेकाले किसान समस्यामा परेका छन् । “एक समयमा किवीको खुबै चर्चा थियो, बजार र मूल्य राम्रो छ, मनग्य आम्दानी हुन्छ भन्ने समाचार सुनियो, गाउँगाउँमा उस्तै हल्ला चल्यो, त्यही समयदेखि मेहनतका साथ लागियो तर अहिले न बजार छ, न मूल्य नै, मेहनत र लगानी खेर जाने चिन्ता छ”, राजकुमार गुरुङले भन्नुभयो ।

समयमा बजारीकरण नभए पनि शीतभण्डार ९कोल्डस्टोर० भए पनि केही राहत मिल्ने किसानको भनाइ छ । “पाकेर बोटबाटै झर्ने अवस्था आएपछि टिप्नै पर्छ, समयमै बिक्री भएन भने कुहिएरै जाने अवस्था आउँछ, कम्तीमा ठाउँठाउँमा शीतभण्डार भए पनि केही राहत हुने थियो”, सिरीजङ्घा गाउँपालिका–७ खेवाङका नरेन्द्र तिवारीले भन्नुभयो । उहाँले यो पटक आफूले उत्पादन गरेको किवी बल्लतल्ल झापा लगेर रु एक सय प्रतिकिलोका दरले बेच्नुभयो । गाउँघरमा रु ७० देखि ८० का दरले बिक्री गरेको उहाँको भनाइ छ । धेरै किसान यसको व्यावसायिक खेतीतर्फ आकर्षक भए पनि बजार र मूल्य अभावकै कारण निरास हुनुपरेको तिवारीले बताउनुभयो ।

किवी खेतीका लागि यहाँको जमिन र वातावरण अनुकूल भएकाले यसको खेतीमा धेरैजसो किसान आकर्षित भएको पाइन्छ । समुद्र सतहबाट एक हजारदेखि १५ सय मिटरको उचाइमा यसको खेती फस्टाउने बताइन्छ । फलफूलको राजा मानिने किवीको बोट छोटो समयमा नै हुर्कने र फल लाग्न सुरु गर्ने भएकाले यसको व्यावसायिक खेती विस्तारसँगै बजारीकरण, प्रशोधन र भण्डारणमा सरकारले विशेष चासो दिनुपर्ने आवश्यकता देखिएको कृषकको भनाइ छ । किवीको प्रयोगले स्वास्थ्यलाई पुग्ने फाइदाका विषयमा प्रचारप्रसार गर्नसमेत आवश्यक रहेको उनीहरुको बुझाइ छ । जुुस, वाइनजस्ता पेय पदार्थका रुपमा किवीलाई प्रशोधन गरेर बजारीकरण गर्नसके किसानको आयआर्जनमा वृद्धि हुनुका साथै मुलुककै अर्थतन्त्रमा सहयोग पुग्ने स्थानीय बताउँछन् ।

धेरै प्रजातिका फलफूलमा पाइने तत्वसँगै भिटामिन सि प्रचुर मात्रामा पाइने किवीको सेवनले मुटुलाई स्वस्थ राख्न, आँखाको ज्योति बढाउन, क्यान्सरबाट बचाउन र रगतलाई सफा राख्न मद्दत पुग्ने बताइन्छ ।

प्रतिकृया दिनुहोस्