×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

साताको शेयर बजार ४२ अर्ब ५१ करोडको कारोबार

साताको शेयर बजार ४२ अर्ब ५१ करोडको कारोबार

नयाँ आर्थिक वर्षको सुरुवातमा धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैमा सकारात्मक सङ्केत देखिएको छ । 

बजार पूँजीकरणमा समेत उत्साहजनक अवस्था सिर्जना भएको छ । नयाँ सरकार गठन भएपछि लगानीकर्तामा विश्वाससमेत बढेको पाइएको छ । नेप्से परिसूचकसमेत तीन हजार विन्दुमा पुगेको छ । यो हालसम्मकै शीर्ष स्थान हो । 

बजारमा झण्डै एक महिना जस्तो ‘करेक्शन’ देखियो । लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाको ब्याज तिर्नुपर्ने तथा अन्य आर्थिक कारोबार मिलाउनु पर्ने भएकाले पनि असारको अन्तिम दुई साता बजारमा करेक्शन देखिएको हो । 

आर्थिक वर्षको पहिलो कारोबार दिन साउन ३ गते नेप्सेमा हरियाली छाएको छ । गत आर्थिक वर्षमा ऐतिहासिक रेकर्ड कायम गरेको शेयर बजारमा वर्षको पहिलो कारोबार दिनमा पनि सोही उत्साह देखिएको छ । 

यस साता चार दिनमात्रै शेयर बजारमा कारोबार भयो । बुधबार सार्वजनिक बिदा परेकाले पनि कूल चार दिनमात्रै कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

यही साउन ३ गते पुनः स्थापित संसद्मा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै थिए । सो दिन शेयर बजारले पछिल्लो राजनीतिक घटनाक्रमलाई स्वागत गर्‍यो । 

यस साता कूल २२२ कम्पनीको ४२ अर्ब ५१ करोड ३५ लाख ९६ हजार ९८४ रुपैयाँ बराबरको कारोबार भयो । नेप्सेका अनुसार यस साता कूल १५ करोड ४० लाख छ हजार ७०२ कित्ता शेयर कारोबार भयो । 

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ९७ दशमलव २१ अङ्कले बढेर २९८० दशमलव ६१ विन्दुमा पुगेको थियो । सो दिन दुई करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर ११ अर्ब ६८ करोड ८१ लाख २६ हजार ४९२ रुपैयाँमा कारोबार भयो । त्यस दिन १९४ वटा कम्पनीको शेयर मूल्य बढेको थियो भने २२ वटा कम्पनीको शेयर मूल्य ओरालो लाग्दा पाँचवटा कम्पनीको शेयर मूल्य स्थिर रहेको थियो । 

त्यस दिन समृद्धि फाइनान्स, सिन्धु विकास बैंक, ङादी ग्रुप अफ पावर, हिमालयन पावर पार्टनर र सिङ्गटी हाइड्रो इनर्जी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो । 

साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक दोहोरो अङ्कले बढेको थियो । नेप्से परिसूचक १३ दशमलव ९७ अङ्कले बढेर दुई हजार ९९४ दशमलव ५८ मा पुगेको थियो । 

ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ० दशमलव ०२ विन्दुले घटेर ५६० दशमलव ९४ मा ओर्लियो । कूल २१९ कम्पनीको तीन करोड ७५ लाख ७१ हजार ३५४ कित्ता शेयर ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६०७ रुपैयाँ मूल्यमा खरीद बिक्री भए । कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर ओरालो लाग्दा आठ उपसमूहको शेयर भने उकालो लागेको थियो । 

सोमबारको कारोबारपछि बजार पूँजीकरण ४१ खर्ब ६५ अर्ब ६१ करोड ४७ हजार ५९ रुपैयाँ बराबर पुगेको छ । कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको थियो । 

कारोबारका आधारमा सिनर्जी पावरको शेयर १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको थियो भने विशाल बजार कम्पनी ९ दशमलव २०, नेपाल इन्सुरेन्स ७ दशमलव ५७, नागरिक लगानी कोष ६ दशमलव ४० र हिमालयन ऊर्जा विकास कम्पनीको लगानीकर्ताले ५ दशमलव ९८ प्रतिशतले कमाएका थिए ।

त्यस दिन नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र ५ दशमलव ८७, सनराइज बैंकको ऋणपत्र ५ दशमलव ०६, गुर्खाज फाइनान्स ३ दशमलव ६०, मञ्जुश्री फाइनान्स ३ दशमलव २० र एचआइडिसिएलका लगानीकर्ताले ३ दशमलव ०२ प्रतिशतले गुमाएका थिए । 

साताको तेस्रो दिन मङ्गलबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लाग्यो । त्यस दिन नेप्से ९ दशमलव ०१ अङ्कले ओरालो लागेर दुई हजार ९८५ दशमलव ५७ मा ओर्लेको थियो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ८२ अङ्कले ओरालो लागेर ५५८ दशमलव ११ मा ओर्लेको थियो । 

कूल २१९ कम्पनीको तीन करोड १६ लाख आठ हजार १९३ कित्ता शेयर सात अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९ रुपैयाँ मूल्यमा खरीद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण ४१ खर्ब ५३ अर्ब सात करोड ९० लाख ३४ हजार ३०२ रुपैयाँको हाराहारीमा पुगेको थियो । 

त्यस दिन कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य उकालो लाग्दा आठ उपसमूहको शेयर भने ओरालो लाग्यो ।

त्यस दिन कारोबारका आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा रहेको थियो । सो कम्पनीको ३८ करोड ७८ लाख २० हजार ९६८ रुपैयाँ बराबरको कारोबार भयो । त्यस दिन लक्ष्मी उन्नति कोष  १० दशमलव ०४, लक्ष्मी इक्विटी फन्ड १० दशमलव ०१, वरुण हाइड्रोपावर ९ दशमलव ३९, माउन्टेन हाइड्रोपावर ९ दशमलव २८ र ग्लोबल आइएमई समुन्नत स्किम–एकका लगानीकर्ताले ८ दशमलव ९२ प्रतिशतले कमाएका थिए । 

बुधबार सार्वजनिक बिदा भएकाले शेयर कारोबार भएन । शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार कारोबार मापक नेप्से परिसूचक तीन हजार विन्दु पार गर्‍यो । त्यस दिन नेप्से परिसूचक १८ दशमलव ७५ विन्दुले बढेर तीन हजार ४ दशमलव ३१ मा पुगेको थियो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४ दशमलव ०६ विन्दुले बढेर ५६२ दशमलव २४ मा पुगेको थियो । 

कूल २२२ कम्पनीको पाँच करोड ५९ लाख ६४ हजार ६२ कित्ता शेयर ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६१६ रुपैयाँ बराबरको कारोबार भएको थियो । बिहीबारको कारोबारपछि बजार पूँजीकरण ४१ खर्ब ७९ अर्ब १७ करोड ४७ लाख ३१ हजार ६७३ रुपैयाँ बराबर पुगेको छ ।

बिहीबार कारोबार भएका १३ उपसमूहमध्ये आठ उपसमूहको शेयर ओरालो लाग्दा पाँच उपसमूहको शेयर मूल्य भने उकालो लागेको थियो । त्यस दिन कारोबारका  आधारमा कृषि विकास बैंक शीर्ष स्थानमा रहेको थियो । सो बैंकको ४६ करोड २७ लाख ६४ हजार ६४० रुपैयाँ बराबरको कारोबार भयो ।

बिहीबार लक्ष्मी उन्नति कोष १० दशमलव ०४, सिइडिबी हाइड्रोपावर १०, ङादी ग्रुप अफ पावर १०, पोखरा फाइनान्स ९ दशमलव ९५ र माउन्टेन हाइड्रोका लगानीकर्ताले ९ दशमलव ९५ प्रतिशतले कमाएका थिए । 

साताभर माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले ३० दशमलव ९२ प्रतिशतले कमाएका थिए । यस्तै, लक्ष्मी इक्विटी फन्ड २७ दशमलव ३९, लक्ष्मी उन्नति कोष २४ दशमलव २५, कृषि विकास बैंक २७ दशमलव ७६ र सिइडिबी हाइड्रोपावरका लगानीकर्ताले २२ दशमलव ६२ प्रतिशतले कमाए । 

त्यसैगरी राष्ट्रिय बीमा कम्पनीका संस्थापक शेयरधनीले ५ दशमलव ५५ प्रतिशतले गुमाउँदा गुर्खाज फाइनान्स ५ दशमलव ४४, सारथी नेपाल लघुवित्त ४ दशमलव ६६, एभरेष्ट इन्सुरेन्सको संस्थापक शेयर ४ दशमलव ५९ र मल्टीप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले ४ दशमलव १९ प्रतिशतले गुमाए । 

प्रतिकृया दिनुहोस्