काठमाडौं- नेवार समुदायका बौद्ध धर्मावलम्बीले मनाउने एक महिने गुँला पर्व बिहीबारदेखि सुरु भएको छ।
नेपाल संवतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वका अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ।
आजबाट सुरु भएको गुँला पर्वको अवसरमा स्वयम्भूमा मेला लागेको छ। गुँला पर्वको अवसरमा विशेषगरी नौँ बाजा बजाउने प्रचलन रहेको छ। गुँला पर्व विशेषगरी बौद्धमार्गीको पर्व भएपनि गुँला पर्वमा अन्य धर्मावलम्बीसमेत सहभागी हुने गर्दछन्।
गुँला पर्वमा बौद्धमार्गी विशेषगरी स्वयम्भू महाचैत्यको दैनिक परिक्रमा गर्नुका साथै बौद्ध, पाटनको पुल्चोकलगायत उपत्यकाका विभिन्न चैत्यको समेत परिक्रमा गर्ने गर्दछन्।
गुँला पर्वको प्रमुख विशेषता न्याकुँ बाजा हो। यो बाजा राँगाको सिङबाट निर्माण गरिएको हुन्छ।
पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित गुँला पर्व मनाउने प्रचलनमा वृद्धि भएको छ। जसअनुसार धाः बाजा, बाँसुरी बाजा, धिमे बाजा, भुस्या बाजा बजाएर पनि चैत्यका साथै स्थानीय इष्टदेवता, गणेश, भीमसेन भैरवलगायतका देवी देवताको समेत परिक्रमा गर्ने प्रचलन छ।
साथै बौद्ध धर्मावलम्बी बाहेकका समुदायसमेत गुँला पर्वको अवसरमा चैत्यहरूको परिक्रमा गर्न जाने गर्दछन्।