काठमाडौं - कप्तान तथा फरवार्ड सावित्रा भण्डारी (साम्बा) को उत्कृष्ट प्रदर्शनमा नेपालले त्रिदेशीय फुटबल प्रतियोगितामा घरेलु टोली भारतमाथि २–१ को रोमाञ्चक जित हासिल गरेको छ ।
सोमबार सिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा भएको खेलमा साम्बाले दुई गोल गर्दै नेपाललाई जित दिलाइन् । उनले खेलको दोस्रो मिनेटमै गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् ।
खेलको ६३औँ मिनेटमा साम्बाले करिब २५ यार्ड टाढाबाट सनसनीपूर्ण फ्रिकिक गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । उनको प्रहार सिधै जाली चुम्न पुगेको थियो ।
८१औँ मिनेटमा करिष्मा पुरुषोत्तम सिर्भोइकारको गोलबाट भारतले २–१ को स्थितिमा खेल फर्काउने प्रयास गरे पनि थप गोल हुन नसक्दा नेपालले महत्वपूर्ण जित दर्ता गर्यो ।
यो जितसँगै नेपाल त्रिदेशीय प्रतियोगिताको उप–विजेता बनेको छ । नेपालले यसअघि इरानसँग ३–० को हार बेहोरेको थियो । भारतले भने प्रतियोगितामा कुनै पनि अंक जोड्न सकेन, पहिलो खेलमा इरानसँग २–० ले पराजित भएको थियो ।