काठमाडौँ- प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डसँगको भेटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वदलीय बैठक सार्ने प्रस्ताव राखेका छन् । प्रधानमन्त्री दाहालले मंगलबारका लागि सर्वदलीय बैठक राखेका छन् ।
अघिल्लो दिन भएको भेटमा ओलीले प्रचण्डसँग सर्वदलीय बैठक सार्ने प्रस्ताव गरेको स्रोतको बतायो । प्रधानमन्त्री प्रचण्ड ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका छन् । प्रचण्डले आफूलाई विश्वासको मत दिने दलहरूको बैठक राखेपछि झस्किएका ओलीले उक्त बैठक राख्दा कांग्रेसलाई भाग खोज्ने अवसर मात्रै हुने तर्क गरेका छन् ।
प्रचण्डले आफूलाई विश्वासको मत दिनेहरूलाई धन्यवाद भन्नका लागि समेत सबै दलीय बैठक राख्न आवश्यक रहेको बताएका छन् । तर, बैठक सार्ने वा नसार्ने भन्ने विषयमा प्रचण्डले केही भनेका छैनन् । संसद् सचिवालयले मंगलबार सभामुखको निर्वाचनको तालिका सार्वजनिक गर्दैछ । बिहीबार सभामुखको निर्वाचन हुँदैछ ।