काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्विन्टल सुन प्रकरणमा भन्सार प्रशासन र सुरक्षा निकायका प्रमुखलाई बर्खास्त नगरिए छानबिनमा समस्या पर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबार बैठकमा लामिछानेले ठूला काण्डहरु पछि विषयलाई मत्थर पार्न कर्मचारीको सरुवा हुने गरेको बताए ।
'यस्तो घटना हुन्छन् त्यसपछि कर्मचारीको सरुवा हुन्छ किन ? सरकारलाई सोध्न चाहन्छु सरुवा भनेको कारबाही हो ? सरुवा गरेर कारबाही गरिएको हो कि पुरस्कार गरिएको हो ?,' उनले भने, 'यस्तो विभिन्न निकायका प्रमुखहरुलाई बर्खास्त गर्नुपर्ने हो कि केही कर्मचारीलाई सरुवा गरेर यसलाई शान्ति गर्ने हो ? सुन प्रकरणपछि पनि सम्बन्धित निकायका प्रमुखहरुलाई राख्दा त्यसले सुन प्रकारणको छानबिनमा असर पर्छ ।'
उनले ठूला काण्डहरु पछि विषयलाई मत्थर पार्न कर्मचारीको सरुवा हुने गरेको बताए । उनले ठूलो सुन तस्करी प्रकरणमा भरियामात्रै पक्राउ पर्ने र नाइके उम्कने कुरालाई जनताले आश्चर्यको रुपमा लिन छाडेको बताए । 'वर्षौंदेखिको सेटिङको कारणले ठूलो सुन काण्डपछि भरिया पक्राउ गर्ने गरेका छन्,' उनले भने ।