नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट प्रधानमन्त्री शेरबहादुर देउवा पुनः सभापतिमा विजयी भएका छन् । सभापतिका उम्मेदवारहरू प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई आफ्नो पक्षमा तानेर देउवाले कांग्रेसको बागडोर आफ्नो हातमा लिएका हुन् । १३औं महाधिवेशनमा पनि देउवाले नेता रामचन्द्र पौडेललाई दोस्रो चरणको निर्वाचनबाट हराएका थिए ।
उनले शुक्रबारबाट जारी १४औं महाधिवेशनमा मंगलबार सभापतिको दोस्रो चरणको मतदानमा जम्मा ४ हजार ५ सय ६४ मत खसेकोमा देउवाले २७ सय २४ मत प्राप्त गरेर सभापतिमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेता डा. शेखर कोइरालाले १८ सय १७ मत प्राप्त गरेका थिए । ३३ मत भने बदर भएको थियो । सोमबार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने देउवा र कोइरालाबीच दोस्रो चरणको मतदान भएको थियो ।
१४औं महाधिवेशनमा देउवा निर्वाचित हुँदा अहिले नेपाली कांग्रेसको फेरि पुरानै गतिले अघि बढ्ने हो कि भन्ने आमकांग्रेसीलाई लाग्न थालेको छ । सैद्धान्तिक वैचारिक र नीतिगत बहसमा ओझेल परे पनि नेतृत्वका लागि प्रतिस्पर्धा, धुव्रीकरण र समीकरण गणितीय जोड–घटाउका बहस, विवादजस्ता विषय थप चर्चामा आएका छन् । लोकतन्त्रवादी वामपन्थी र दक्षिणपन्थी शक्तिका बीच तीव्र धुव्रीकरण भइरहेको घडीमा हुन लागेको महाधिवेशनले कांग्रेसको भविष्य निर्धारण गर्ने चुनौतीपूर्ण अभिभारा बोकेको छ । सैद्धान्तिक दृष्टिबाट विश्लेषण गर्दा, कांग्रेसको भावी नीति उदारवाद हो कि अनुदारवाद, समाजवादी कि पुँजीवाद, परिवर्तनकारी कि यथास्थितिवादी भन्ने प्रश्नहरू उठिरहेका छन्् । पार्र्टी प्रणालीका दृष्टिले मास वेस्ड कि क्याडर–वेस्ट, नीतिप्रधान कि नेतृत्व प्रधान, सभापतीय कि सामूहिक नेतृत्व प्रणाली भन्ने बहससमेत चलिरहेको छ । यस्ता यक्षप्रश्नहरूको निरुपण महाधिवेशनको सबैभन्दा ठूलो चुनौती तर कांग्रेसको भविष्यको दृष्टिले सबैभन्दा ठूलो अवसर हो ।
राष्ट्रिय, लोकतन्त्र र समाजवाद नेपाली कांग्रेसले स्थापनाकालदेखि नै अख्तियार गर्दै आएका मार्गनिर्देशक सिद्धान्त हुन् भने सिद्धान्त र विचारका दृष्टिले कांग्रेस लोकतन्त्रवादी, उदारवादी र मध्यमार्र्गी पार्टी भएकाले परिवर्तित राष्ट्रिय–अन्तर्राष्ट्रिय परिदृश्यमा कांग्रेसका मार्गदर्शक सिद्धान्तलाई पुनर्परिभाषित गर्नै पर्ने परिस्थिति उत्पन्न भएको छ । समावेशी र उदार राष्ट्रियताको अवधारणाअनुसार नेपालको बहुलता विविधता र नागरिकको भावनाले प्रतिनिधित्व गर्ने वास्तविक, समावेशी र उदार राष्ट्रवादी पार्टीका रूपमा कांग्रेसले आफूलाई स्थापित गर्नु अपरिहार्य छ ।
संविधानसभामार्फत बनेको संविधानले मिश्रित निर्वाचन प्रणालीसहितको समावेशी र सहभागितामूलक परिमार्जित लोकतान्त्रिक प्रणाली संस्थागत गरेको छ । त्यसैले, सहभागितामूलक लोकतान्त्रिक प्रणालीको अक्षर र भावनालाई पूर्णरूपमा आत्मसात् गरी सोही सिद्धान्तअनुरूप राज्य र पार्टी सञ्चालन गर्ने प्रतिवद्धता महाधिवेशनमार्फत् सार्वजनिक गर्नु कांग्रेसकै हित हुनेछ ।
बिपी कोइरालाको नेतृत्वमा नेपाली कांग्रेस सबैभन्दा ठूलो राष्ट्रवादी लोकतान्त्रिक अग्रगामी र प्रगतिशील पार्टी थियो । अहिले जसले नेतृत्व गरेतापनि पार्टीको मौलिक सैद्धान्तिक धरातल र वर्गाधारबाट कांग्रेस विचलिनु हुँदैन । यदि कन्जरभेटिभ वा दक्षिणपन्थी दिशातर्फ उन्मुख भयो भने कांग्रेसको भविष्य र सान्दर्भिकता समाप्त हुने छ । वास्तवमा अतिवाद र उग्रवाद होइन, लोकतन्त्र, उदारवाद र मध्यमार्ग नै नेपाली राजनीतिको बाटो हो । नेपालको संविधान लोकतान्त्रिक, प्रगतिशील र अग्रगामी भए पनि मधेसी, महिला, जनजाति, दलित, अल्पसंख्यक, सीमान्तकृत तथा वञ्चितीकरणमा परेको समुदायको यसमा रिजर्भेसन छ ।
नेपाली कांग्रेसको सिद्धान्त पुँजीवाद होइन, लोकतान्त्रिक समाजवाद हो । तर समाजवादका नाममा शास्त्रीय समाजवादी पनि होइन, परिवर्तित राष्ट्रिय–अन्तर्राष्ट्रिय अर्थ–राजनीतिक परिवेशअनुरूप लोकतान्त्रिक समाजवादलाई समयानुकूल ठोस र स्पष्टरूपमा पुनव्र्याख्या गर्नु आजको आवश्यक हो । त्यसैले लोकतान्त्रिक समाजवादी नीति अनुशरण गरी सामाजिक न्यायसहितको समुन्नत तथा समतामूलक समाज स्थापना गर्ने भनी जनताको विश्वास नजितेसम्म कांग्रेसले पुनर्जीवन पाउने सम्भावना छैन ।
स्थापनाकालदेखि हालसम्मको अभ्यासका आधारमा विश्लेषण गर्दा, कांगे्रस नीतिप्रधानभन्दा नेतृत्वप्रधान पार्टी हो । त्यसैले पार्टीमा विधिसम्मत प्रणाली, संस्थागत विकासका लागि नेतृत्वमुखी प्रणाली, संरचना, मानसिकता र अभ्यास प्रमुख समस्या भएको देखिन्छ ।
हाल सत्ताको नेतृत्व गरिरहेका कारण मात्रै नेपाली कांग्रेसको महाधिवेशनले मुलुकको राजनीतिलाई तताइरहेको होइन, नेपाली कांग्रेस भनेको मुलुकको मियो पार्टी हो भन्ने कुरा विगत ७५ वर्षको इतिहासले पटकपटक पुष्टि गरेको छ । यो ७५ वर्षको इतिहास हेर्दा देशको प्रधानमन्त्री पदभन्दा नेपाली कांग्रेसको सभापति पदको गरिमा उच्च रहेको पटकपटक पुष्टि भइसकेको छ । अहिलेसम्म नेपाली कांग्रेसका कुनै सभापति छैनन्, जसलाई प्रधानमन्त्री पदले हरहमेसा पछ्याइरहेको नहोस् ।
हुन त वर्तमान सभापति शेरबहादुर देउवालाई अपवाद मान्दा नेपाली कांग्रेसका अहिलेसम्म कुनै सभापति छैनन् जसले मुलुकका लागि विशेष योगदान पु¥याएर इतिहासमा आफ्नो नाम अमर नबनाएका होइन । यसैले नेपाली कांग्रेसको सभापति को बन्छ ? सभापति बन्नका लागि के कस्तो चलखेल हुने गर्छ ?
नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीको इतिहास लेखन तथा मान्यता भने पृथक देखिन्छ । नेपाल कम्युनिस्ट पार्टीले पुष्पलालभन्दा पछाडि हेर्नै चाहेको देखिन्न भने नेपाली कांग्रेसले मातृकाप्रसाद कोइरालाभन्दा पछाडि फर्केर राष्ट्रिय कांग्रेस गठनसँगै आफ्नो पार्टीको इतिहास शुरु भएको मान्यता राख्दै आएको छ ।
राष्ट्रिय कांग्रेसलाई नै आरम्भ मान्ने हो भने पनि नेपाली कांग्रेसको संस्थापक अध्यक्ष टंकप्रसाद आचार्य कि बिपी कोइराला ? भन्ने प्रश्नको संगीन रूपमा खडा हुन्छ । किनकि, नेपाली कांग्रेसका ऐतिहासिक दस्ताबेजको सूचीको पहिलो नम्बरमा अध्यक्ष आचार्यको नाम छ, दोस्रो नम्बरमा कार्यकारी अध्यक्ष कोइरालाको नाम छ ।
वास्तवमा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीहरूले प्रजापरिषद्को निरन्तरतालाई चाहेर पनि आफ्नो इतिहासबाट मेट्न सक्ने अवस्था छैन । राष्ट्रिय कांग्रेसको पहिलो सभापति नै प्रजापरिषद्का अध्यक्ष टंकप्रसाद आचार्य हुन्, प्रजापरिषदकै नेता गणेशमान सिंहको मुख्य सक्रियतामा राष्ट्रिय कांग्रेस स्थापना भएको हो ।
नेपाली कांग्रेसका सिद्धान्तकार प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको व्यक्तित्व नेपालमा मात्रै सीमित छैन । बिपीको नामविना नेपालको मात्रै होइन दक्षिण एसियाकै राजनीतिक इतिहास अधुरो हुन्छ । बिपीले झापादखि दार्चुलासम्म र ताप्लेजुङदेखि कञ्चनपुर सम्मका सबै समुदायका नेपालीलाई एक सूत्रमा जोड्ने काम गरेका थिए ।
शेरबहादुर देउवा नेपाली कांग्रेसको नवौँ सभापतिमा निर्वाचित भएका छन् । आजभन्दा करिव ६ वर्षअघि १३औँ महाधिवेशनद्वारा सभापति पदमा निर्वाचित हुनुभएका देउवाले कुनै ऐतिहासिक काम त गर्न सकेका छैनन् । त्यसैले, नेपाली कांग्रेस पार्टीसमेत इतिहासमै सबैभन्दा कमजोर भएको छ । देउवाको कार्यकालमा नेपाली कांग्रेस इतिहासमै सबैभन्दा कमजोर बनेको कुरा निर्वाचनद्वारा नै पुष्टि भइसकेको छ ।
यतिबेला सातवटै प्रदेशमा कांग्रेस विपक्षमा छ । तर, त्यहाँ के भूमिका निभाउने भन्नेमा अलमलिएको देखिन्छ । संघ, प्रदेश र स्थानीय तहसम्मका कार्यकर्ताहरूलाई प्रशिक्षण दिएर सशक्त विपक्षी बनाउने सोच केन्द्रीय तहमा आएको छैन । देशको नयाँ संरचनामा जान पार्टी असफल छ । यस्तै, संविधानअनुसार पार्टीको विधान बनेको छैन । देउवा पहिलो सभापति बनेको अढाई वर्ष पुगिसक्दा पनि संगठन र विभागहरू नबन्दै पुन दोस्रोपटक सभापति बनेका छन् । ।
पार्टीभित्रको चरम आन्तरिक गुटबन्दी झाँगिदै गएकाले नै उसलाई सबैभन्दा कमजोर बनाएको कतिपयको विश्लेषण हुने गर्छ । विश्लेषकहरूका अनुसार देउवालाई अधिनायकवादको संज्ञा दिंदै उनीविरुद्ध गुटबन्दीमा लाग्ने समूह र सो समूहलाई हाबी हुन नदिने देउवाको दाउले पार्टी कमजोर हुन गएको हो । जसले गर्दा नेताहरूले रचनात्मक भूमिकातर्फ ध्यान दिएको पाइँदैन । जे होस्, अबको कांग्रेसको नेतृत्वले व्यक्तिगत स्वार्थको लडाइँ लड्नुभन्दा राष्ट्रनिर्माणको मूल एजेन्डामा सबैलाई एकजुट बनाएर लैजान जरुरी छ ।