×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एसपीपी अगाडी बढ्दैनः परराष्ट्र मन्त्री खड्का

एसपीपी अगाडी बढ्दैनः परराष्ट्र मन्त्री खड्का

काठमाडौँ- परराष्ट्र मन्त्री डा.नारायण खड्काले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी विषय टुंगिसकेकाले अब अगाडि नबढ्ने बताएका छन् ।

प्रधानमन्त्री, नेपाली सेनाले समेत अगाडि बढ्दैन भनिसकेकाले अब यसलाई थप कोट्याउनु आवश्यक नभएको उनको भनाइ छ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा शुक्रबार उपस्थित भएका मन्त्री खड्काले एसपिपीसँग सम्बन्धित सैन्य सम्झौता प्रस्ताव नेपाललाई स्वीकार्य नहुने भन्दै राष्ट्रिय हितमा नभएकाले अगाडि नबढाउने स्पष्ट पारेका हुन्।

नेपाली सेना र अमेरिकी दूतावासबाट यसबारे विज्ञप्ति आइसकेको भन्दै यसबारे थप चर्चा नगर्न समितिका सभापतिलाई आग्रह गरे।

‘यो बारेमा स्पष्ट आइसकेको छ। यो कार्यक्रम हामीलाई स्वीकार्य छैन। यो अगाडि बढ्ने छैन र बढाइने छैन’, उनले भने, ‘यो राष्ट्रिय हितमा छैन, अन्तर्राष्ट्रिय प्रतिवद्धताले पनि स्टेट पार्टनरसिप प्रोग्राम कार्यान्वयन हुँदैन भनिसकिएको छ।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवा स्वयंले कार्यान्वयन हुँदैन भनेपछि नहुने जिकिर गरे। मन्त्री खड्काले प्रधानमन्त्रीको तहबाट अघि बढ्दैन भनेपछि खोतल्न आवश्यक नभएको बताएका हुन्।

‘सेना र अमेरिकी दूतावासबाट पनि यो कार्यान्वयन हुँदैन भनेर आएको छ, प्रधानमन्त्री स्वयमले कार्यान्वयन हुँदैन भनेपछि यसलाई अझै नांगो हुन उपयुक्त हुँदैन जस्तो लाग्छ’, उनले भने, ‘अब कसको पालामा के भयो भन्ने हो भने धेरै कुरा आउलान्, तेरो पालामा र मेरो पालामा भनेर अर्थ छैन।’

परराष्ट्रमन्त्री खड्का र प्रधानसेनापति प्रभुराम शर्मालाई समितिले जवाफका लागि बोलाएको थियो।

प्रतिकृया दिनुहोस्