×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमाले डडेल्धुराका तत्कालीन अध्यक्षसहित बहुमत जिल्ला कमिटी नेकपा(एस)मा समाहित

एमाले डडेल्धुराका तत्कालीन अध्यक्षसहित बहुमत जिल्ला कमिटी नेकपा(एस)मा समाहित

डडेल्धुरा- नेकपा एमाले डडेलधुराका तत्कालीन जिल्ला अध्यक्ष तारा जोशी नेतृतवको सिंगो टीम नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेको छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा बुधवार भएको एक कार्यक्रमबीच एमालेका तत्कालीन अध्यक्ष जोशीसहितको टीमलाई पार्टीमा स्वागत गरियो।बुधबारको कार्यक्रमलाई सम्बोधन गर्दै जोशीले एमाले अध्यक्ष केपी शर्मा ओलीमा निरंकुशता हावी भएको र जनभावना विपरीत गएकाले आफूहरू समाजवादीमा समाहित भएको बताए। उनले ५१ सदस्यीय जिल्ला कमिटीका पदाधिकारीसहित दुईतिहाइ सदस्य समाजवादीमा समाहित भएका घोषणा गरे। १४ जना भातृ संगठन प्रमुखको टीम समेत समाजवादीमा समाहित भएको जोशीले बताए।

सुदूरपश्चिममा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति विपरीत गतिविधि गराउन थालेपछि डडेलधुरामा नेकपा एमाले विभाजन भएको जोशीसँगै समाजवादीमा प्रवेश गरेका नेताहरुको भनाइ छ।

जोशी निर्वाचित जिल्ला अध्यक्ष हुँदाहुँदै ओलीले प्रकाश साउँदलाई अध्यक्ष बनाएका थिए। केन्द्रमा १० बुँदे सहमति भएपछि आफू जिल्ला अध्यक्ष हुनुपर्ने माग गर्दै आएका जोशीको मागको सुनुवाइ नभएपछि उनी समाजवादीमा प्रवेश गरेका जनाइएको छ। 
प्रेस चैतारी नेपाल, अनेम संघ, युवा संघ लगायतका १४ भातृ संगठनका प्रमुखसहित बहुमत सदस्य पनि समाजवादीमा सामेल भएका छन्।

नेकपा एमालेमा अध्यक्ष ओली र माधव नेपालबीच अन्तरसंघर्ष चलिरहँदा डडेलधुरा अध्यक्ष जोशी नेपाल पक्षमा थिए। एमालेका उपमहासचिव घनश्याम भुसाल निकट जोशी पार्टी विभाजन हुँदा भने पूर्ववत् जिम्मेवारी पाउने अपेक्षामा पार्टीमै रहेका थिए। 

तर, प्रकाश साउँदले एकतर्फी रुपमा पार्टीका गतिविधि सञ्चालन र कमिटी विस्तार गरेपछि जोशी रुस्ट थिए। जोशीले एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापामार्फत् अध्यक्ष ओलीलाई 'सन्देश' पठाउँदै आफूलाई पार्टीमा पूर्ववत् जिम्मेवारीमा फर्काउनुपर्ने माग पनि पटक पटक गरेका थिए। 

तर, अध्यक्ष ओली आफ्नो मागको सुनुवाइ गर्ने पक्षमा नदेखिएपछि जोशीले एकीकृत समाजवादीमा समाहित हुने बाटो रोजेका हुन्। जोशीलाई पार्टीमा स्वागत गर्न एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बुधबार हेलिकोप्टर चढेर डडेलधुरा पुगेका थिए।

प्रतिकृया दिनुहोस्