काठमाडौं- नेकपा एकीकृत समाजवादीले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फेर्ने विषयमा भइरहेको ढिलाइबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई सोध्ने निर्णय गरेको छ। बुधाबार बसेको सो पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको सम्मानित नेता झलनाथ खनालले बताए।
‘आज सचिवालयको बैठक बसेको थियो तुरुन्तै पोलिटब्यूरोको बैठक, केन्द्रीय समितिको बैठक, केन्द्रीय परिषद्को बैठकको तयारीको विषयका छलफल गर्यौँ,’ उनले भने, ‘यसबाहेक मन्त्रिमण्डलमा हाम्रो टिमलाई बदल्ने भनेर निर्णय गरेका छौं। त्यो निर्णयलाई सरकारले अहिलेसम्म किन कार्यान्वयन गरेका छैन ? तुरुन्तै कार्यान्वयन गर्नुपर्यो भनेर निर्णय भएको छ।’
यस विषयमा प्रधानमन्त्री देउवासँग सोध्नका लागि पार्टीअध्यक्ष माधवकुमार नेपाल बालुवाटार गएको सम्मानित नेता खनालले जानकारी दिए। एकीकृत समाजवादी पार्टीले हाल सरकारमा रहेका मन्त्रीहरु रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने र जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीरा केसीलाई मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको थियो। त्यस्तै हाल स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्यमन्त्री बनाउने निर्णय थियो।