विराटनगर- पछिल्लो समय मोरङ कारागारमा लफडा हुँदै आएको छ । मोरङ कारागारभित्रका कैदीबन्दीलाई चौकीदार किरण गुरुङले दुःख दिएको भन्दै कैदीबन्दी आन्दोलित भएका हुन् । गुरूङको निर्देशनमा नाइके र भाइ नाइकेहरूले यातना दिएको कैदीबन्दीको आरोप छ । कैदीबन्दीले चौकीदार गुरूङसहित उनको समूहका १४ जना नाइके र भाइ नाइकेहरूलाई जेलभित्रैको एउटा कोठामा थुनेर कैदीबन्दी आन्दोलित भएका हुन् ।
विवाद भएपछि दुई पक्षबीच झडप हुँदा ६ जना कैदीबन्दी घाइते भएका छन् । घटनामा चौकीदार गुरुङसहित केही नाइकेहरू घाइते भएको विराटनगर कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले जानकारी दिए । झडपमा चौकीदार किरण गुरुङ र नाइकेहरू शेखर राई, निर्मल ढकाल, बिशाल मुक्ताङ, डिल्ली देवान र सूर्यदीप गुप्ता रहेको कारागार प्रशासनले जनाएको छ ।
थुनिएका कैदीहरूलाई प्रहरीले काराागारबाट बाहिर निकालेर सुरक्षित स्थानमा राखेको जनाएको छ । १४ जनाको भित्र बस्ने वातवरण नहुने भएपछि उनीहरूलाई अन्यन्त्र कारागारमा सरुवा गरी पठाउने तयारी गरिएको निमित्त प्रमुख पोखरेलले बताए । जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी महेशप्रसाद तिम्सिनाले कारागारमा सामान्य विवाद भएको र त्यो समाधान भइसकेको बताए । ‘केहीबेर अघि कैदीबन्दीहरूबीच भनाभन भएको हो,’ उनले भने, ‘अहिले अवस्था सामान्य भइसकेको छ ।’