काठमाडौँ- इजिप्टका गोलरक्षक गाबास्कीले क्यामरुनका दुई पेनाल्टी रोकेपछि इजिप्ट फाइनलमा प्रवेश गरेको छ। गाबास्कीको नायकीमा इजिप्टले अफ्रिकन कप अप नेशन्सको फाइनलमा अर्को दाबेदार सेनेगल सँगको भेट पक्का गरेको हो।
प्रतियोगिता अन्तर्गत दोस्रो सेमिफाइनलमा घरेलु टोलीविरुद्ध निर्धारित समय इजिप्ट गोलरहित बराबरीमा सकिएको थियो। खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको थियो। जहाँ ३-१ ले इजिप्ट विजयी रह्यो। अफ्रिकन कप अफ नेशन्सको यो फाइनललाई लिभरपुलका दुई स्टार मोहम्मद सलाह र साडियो मानेबिचको प्रतिस्पर्धाका रुपमा समेत हेरिएको छ।
खेलमा घरेलु टोली क्यामरुन अभागी साबित भएको थियो। उसले ९० मिनेट भित्र गरेका गोलका केही राम्रा प्रहार सफल भएन। मिचेल नडेउ नाजुइसले गरेको हेड पोस्टमा लाग्दा सामुएल गोउट्सले गरेको लामो प्रहार पनि पोलमा लाग्दा क्यामरुन दुर्भाग्यशाली बनेको थियो।
खेलमा इजिप्टका लागि मोहम्मद सलाहले पनि गोलका केही प्रयास गरे पनि सफल हुन सकेनन्। निर्धारित समय गोलरहित बराबरी भए लगतै इजिप्टका प्रशिक्षक कारलोस क्विरोज रातो कार्ड खाएर टचलाइन छोड्न बाध्य भए। अब उनले फाइनल खेलमा समेत टचलाइनमा रहने अवसर गुमाउने छन्। यसअघि उनले मोरक्कोविरुद्ध क्वाटर फाइनलमा समेत पहेलो कार्ड खाएका थिए।
पेनाल्टी सुटआउटमा जित निकालेसँगै अफ्रिकन कपको इतिहासमा सर्वाधिक दुई सफल टीम पुन: एक पटक फाइनलमा प्रतिस्पर्धा गर्ने निश्चित भएको छ।