काठमाडाैँ- प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगका गतिविधिमाथि प्रश्न उठाएका छन् । उनले एमालेविरुद्ध नलाग्न चेतावनीसमेत दिएका छन् । सोमबार पार्टीको पोलिट्ब्यूरो बैठकलाई सम्बाेधन गर्दै ओलीले यस्ताे चेतावनी दिएका हुन् । मतपत्रको रङ हरियो बनाउने, स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि राजीनामा दिनुपर्नेजस्ता व्यवस्था गर्दा आफूहरुसँग परामर्श नगरेको भन्दै ओलीले भनेका छन्— ‘म भन्छु निर्वाचन आयाेग एमालेविरुद्ध नलागाेस् ।’
निर्वाचन आयोगले अघोषित रूपमा गठबन्धन दलहरूसँग भने छलफल गरिररहेको तर, सबैभन्दा ठूलो दल एमालेसँग भने कुनै पनि गतिविधिमा छलफल नगरेको बताए । आचारसंहितामा मनोनयनअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान राखेको छ । ओलीले स्थानीय तहमा नेकपा एमालेका जनप्रतिनिधिलाई अप्ठेरो पार्न आचारसंहितामा यो व्यवस्था राखिएको समेत टिप्पणी गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धनको सरकार भएकाले यो व्यवस्था नराखिएको तर स्थानीय तहमा एमालेको वर्चश्व भएकाले यो व्यवस्था राखिएको ओलीले आरोप लगाए । ‘केन्द्रमा गठबन्धनकै सरकार छ, प्रदेशमा गठबन्धनकै सरकार छ, स्थानीय तहमा गठबन्धनको वर्चश्व छैन,’ उनले भनेका छन्, ‘नभए स्थानीय सरकारको कार्यकारिणीलाई रिक्त गर्नपर्ने आवश्यकता र औचित्य छैन ।’
निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वमा दल दर्ता गर्न हतारो गरेर आफ्नो पार्टी विभाजन गरेको पनि ओलीले आरोप लगाए । त्यस्तै मतपेटिकाको रङ हरियो बनाउनु पनि एमालेविरुद्ध भएको ओलीले बताए । ‘अहिलेसम्म हामीले रङको कारण चिनेनौं, कन्फ्युजन भयो भन्ने कुरा आएको छैन । त्यसैले रङ बदलेर हरियो किन राख्नुपर्यो ? सूर्य कसरी हरियो हुन्छ रु कि त सिम्बोलिक ब्ल्याक एण्ड हृवाइटमा जानुपर्यो । कि जसको जुन चिह्न हो, त्यही अनुसार हामीलाई रातो सूर्य देऊ । अनि हामीलाई रातो सूर्य नहुने अनि रुखको जस्तो रङ छ, त्यस्तै गर्नुपर्ने ? यो सत्ता साठगाठ होइन भने के हो ?’
यसअघि पनि ओलीले निर्वाचन आयोगले गठबन्धनको खटपट मिलाउने जिम्मा लिएको आरोप लगाएका थिए ।