काठमाडौँ- स्थानीय तह सदस्यका लागि मतदान गर्ने दिन नजिकिँदै जाँदा आचारसंहिताका घटना बढेका छन् । निर्वाचन आयोगमै पुगेर आचारसंहिता पूर्णपालना गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका राजनीतिक दल तथा उम्मेदवारबाटै पनि यस्ता गतिविधि भइरहेका हुन् ।
आयोगले पछिल्लो समय माग गरेको जवाफ र सोधेको स्पष्टीकरणले पनि आचारसंहिता पालना नभएको देखाउँछ । आयोगले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग त जवाफ नै मागेको छ । कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिको नामबाट ‘ओलीजी गफ गर्छन्, हामी काम गर्छौँ, रुख चिह्नमा मतदान गरी’ शीर्षकको पर्चा सामाजिक सञ्जालमा देखिन आएको भन्दै आयोगले सो पर्चा राखेको हो/होइन भनी जवाफ मागेको हो ।
आयोगको पत्रमा भनिएको छ, ‘उक्त सामग्री निर्वाचन आचारसंहिता, २०७८ को दफा ४ को देहाय (ठ) र (ढ) विपरीत देखिएकाले सो पर्चा सामाजिक सञ्जाल तथा अन्य स्थानबाट तुरुन्त हटाई सो सम्बन्धमा स्पष्ट गरी तीन (तीन दिनभित्र जवाफ उपलब्ध गराइदिन हुन आदेशानुसार अनुरोध गरिन्छ ।’
आचारसंहिता कार्यान्वयन गर्ने प्रतिबद्धता सो दलले यसअघि गरिसकेको सन्दर्भमा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा भयमुक्त बनाउनेतर्फ आयोगले पुनः स्मरण गराएको छ ।
यस्तै आयोगले आचारसंहिताविपरीत गतिविधि गरेको भन्दै सत्तासाझेदार दल माओवादी केन्द्रसँगसमेत जवाफ मागेको छ । बाराको ‘कलैया उपमहानगरपालिका-२३ का वडाध्यक्ष विक्रम साहलगायत व्यक्तिहरू माओवादी केन्द्रको चुनाव चिह्नअंकित टिसर्टसहित प्रचारमा देखिएको समाचारसञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट जानकारी हुन आएकाले सो कार्य त्यस दलबाट भएको हो होइन ?’ भनी आयोगले जवाफ मागेको हो ।
‘सो दलले निर्वाचन आचारसंहिता, २०७८ को दफा ४ को खण्ड (घ) विपरीतको कार्य गरेको देखिँदा त्यस दललाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम किन कारबाही नगर्ने भन्ने विषयमा तीन दिनभित्र आधार प्रमाणसहित आयोगलाई स्पष्ट जवाफ उपलब्ध गराइदिनहुन आदेशानुसार अनुरोध गरिन्छ,’ आयोगको पत्रमा उल्लेख छ ।
मन्त्री मोक्तानलाई आयोगको २४ घण्टे स्पष्टीकरण
आयोगले बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता विपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधेको हो ।
मन्त्री मोक्तान चुनावी प्रचारप्रसारमा निरन्तर खटिएको फोटोसहितको समाचार सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएपछि उनलाई त्यसबारेमा आधारसहित आयोगलाई स्पष्ट गर्न अनुरोध गरिएको छ ।
आयोगको पत्रमा भनिएको छ । ‘तपाईँले निर्वाचन आचारसंहिता, २०७८ को दफा ५ को खण्ड (क) विपरीतको कार्य गरेको देखिँदा तपाईँलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम किन कारबाही नगर्ने ? भन्ने विषयमा २४ घण्टाभित्र आधार प्रमाणसहित आयोगलाई स्पष्ट गरी स्पष्टीकरण दिन हुन आदेशानुसार अनुरोध गरिन्छ ।’
नगरप्रमुख घिमिरेलाई सोध्यो स्पष्टीकरण
आयोगले रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेसँग स्पष्टीकरण सोधेको छ । दलीय चुनावी प्रचारप्रसारमा खटिएको फोटोसहितको समाचार सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएपछि आयोगले उनलाई २४ घण्टाको समय दिएर स्पष्टीकरण पेस गर्न भनेको हो ।
निर्वाचन आयोगलाई चुनौतीपूर्ण अभिव्यक्ति दिएको हो/होइन भन्दै आयोगले संवैधानिक आयोगको गरिमा घट्ने गरी अभिव्यक्ति नदिन र आचारसंहिताविपरीतका कार्य नगर्न/नगराउन निर्देशन दिएको छ ।
आयोगको पत्रमा भनिएको छ, ‘निर्वाचन आचारसंहिता, २०७८ को दफा ५ मा स्थानीय कार्यपालिकाका पदाधिकारीले पालना गर्नुपर्ने आचरणअन्तर्गतको खण्ड (क) मा कुनै राजनीतिक दल वा उमेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नहुने भन्ने व्यवस्था रहेको सन्दर्भमा तपाईंले रुपन्देहीको विभिन्न स्थानमा आयोजना गरिएका चुनावी प्रचारप्रसार कार्यक्रममा सहभागी भएको भन्ने फोटोसहितको समाचार आएको र कारबाही गर्न निर्वाचन आयोगलाई समेत चुनौती दिएको विषय तपाईंले भनेको हो होइन ?’
प्रमुख घिमिरेले निर्वाचन आचारसंहिता, २०७८ को दफा ५ को खण्ड (क) विपरीतको काम गरेको आयोगले प्रष्ट पारेको छ । पत्रमा भनिएको छ, ‘तपाईंलाई निर्वाचन ऐन २०७३ को दफा २३ उपदफा (३) बमोजिम किन कारबाही गर्नु नपर्ने हो, सो विषयमा २४ घण्टाभित्र आधार प्रमाणसहित स्पष्टीकरण पेस गर्न हुन आदेशानुसार अनुरोध छ ।’