×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

महन्थ–राजेन्द्र पक्षभित्र चुलियो असन्तुष्टि

महन्थ–राजेन्द्र पक्षभित्र चुलियो असन्तुष्टि

जनता समाजवादी पार्टी (जसपा) महन्थ–राजेन्द्र पक्षले निर्वाचन आयोगलाई पत्र बुझाएका छन् । अर्का अध्यक्ष उपेन्द्र यादवले आयोगमा आधिकारिकताको दाबी गरेपछि अध्यक्ष महन्थ ठाकुरले पत्र पठाएका हुन् । आयोगले १५ दिनको समय दिँदै महन्थ पक्षलाई जवाफ दिन पत्र पठाएको थियो ।

महन्थ पक्षले निर्वाचन आयोगलाई बुझाएको पत्रमा कार्यकारिणी सदस्य राजकिशोर यादव र अमृता अग्रहरीले हस्ताक्षर नगरेको जसपा स्रोतले जनाएको छ । पार्टीमा भइरहेका क्रियाकलापबाट असन्तुष्ट भएर यादव र अग्रहरीले निर्वाचन आयोगमा पठाइएको पत्रमा हस्ताक्षर नगरेको स्रोतको दाबी छ । ओली नेतृत्वको सरकारमा महन्थ पक्ष सरकारमा सहभागी हुँदा यादव र अग्रहरीका नाम राखेका थिएनन् ।

यद्यपि यादव भने पछि सरकारमा सहभागी भएका थिए । अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको क्रियाकलापबाट असन्तुष्ट भएर दुबैजनाले पत्रमा हस्ताक्षर नगरेको बुझिएको छ । आयोगमा बुझाइएको पत्रमा ठाकुरले आफू प्रथम अध्यक्ष रहेको दाबी गरेका छन् ।

पुस ७ मा बसेको कार्यकारिणी समिति बैठकको आधार देखाउँदै उनले प्रथम अध्यक्षको दाबी गरेका हुन् । प्रतिनिधिसभा विघटनपछि आन्दोलनको कार्यक्रम तय गर्न पुस ७ गते बसेको कार्यकारिणी समिति बैठकले कार्यकारिणी समिति हेरफेर र निर्णय प्रमाणीकरण गर्ने अधिकार ठाकुरलाई प्रत्यायोजन गरेको महन्थ पक्षको दाबी छ ।

यद्यपि उपेन्द्र पक्षले भने पुस ७ मा अधिकार प्रत्यायोजन गर्ने सम्बन्धी कुनै निर्णय नभएको भन्दै महन्थ पक्षले गरेको दाबीलाई फर्जी भनिरहेको छ ।

 

प्रतिकृया दिनुहोस्