काठमाडाैं- रुसी रक्षा मन्त्रालयले अघिल्लो साता डुबेको आफ्नो नौ सैनिक पानीजहाजका चालक दलको तस्बिरहरू भन्दै केही तस्बिर सार्वजनिक गरेको छ । मिति नखुलाइएको उक्त भिडिओमा सयौँ नाविकहरूलाई परेड मैदानमा देखाइएको छ र उनीहरूलाई रुसी नौ सेनाका प्रमुख एडमिरल निकोले येभमेनोभले निरीक्षण गरिरहेको देखिन्छ ।
उक्त पानीजहाजमा करिब ५०० फौज रहेको बताइएको छ । रुसले उक्त पानीजहाजमा रहेका विस्फोटक पदार्थ कारण नखुलाइएको आगलागीका कारण विस्फोटन भएपछि सो पानीजहाज डुबेको बताउँदै आएको छ । उक्त नौसैनिक पानीजहाज डुबेपछि त्यसका चालक दलका सदस्यहरूको तस्बिर देखा परेको यो पहिलो पटक हो ।
ठूलो सङ्ख्यामा नाविकहरूको समूह क्राइमियाको बन्दरगाह शहर सेभास्टपोलमा परेड गरिरहेको देखाइएको छ । मस्क्भा नामक उक्त पानीजहाज रुसी सेनाको ब्ल्याक सी फ्लिटको प्रमुख ध्वजावाहक रहेको थियो । उक्त पानी जहाज डुब्नुलाई रुसी सेनाको प्रतिष्ठामा ठूलो धक्काका रूपमा व्याख्या गरिएको थियो ।
यसअघि बिहीवार अबेर रुसको रक्षा मन्त्रालयले विस्फोटक पदार्थ पड्किएपछि भएको आगलागीपछि खराब मौसमका माझ मस्क्भा डुबेको जनाएको थियो । मस्क्भा नामक उक्त लडाकु पानीजहाजमाथि आफूले दुईवटा क्षेप्यास्त्र प्रहार गरेको युक्रेनले जनाएको थियो । रुसले त्यसबेला चालक दलका सदस्यहरूलाई सन् २०१४ मा युक्रेनबाट गाभिएको क्राइमियामा अवस्थित सेभास्टपोल बन्दरगाहमा लगिएको जनाएको थियो ।
उक्त पानीजहाजका नौ सैनिक जीवित रहेको प्रमाण सार्वजनिक गरिएको यो पहिलो घटना हो । त्यस्ममा नौ सेनाका प्रमुख येभमेनोभ र दुई जना अधिकृतहरू करिब १ सय नाविकको अगाडि उभिएको देखाइएको छ । तर त्यसको मिति भने प्रस्ट भइसकेको छैन । -बीबीसी