काठमाडौँ– जलस्रोतको संरक्षण र व्यवस्थापनमा जलवायु परिवर्तन मुख्य चुनौतीका रूपमा देखिएको छ। बढ्दो तापक्रमका कारण हिमाली क्षेत्रमा हिउँ पग्लिने क्रम तीव्र रूपमा बढिरहेकाले भविष्यमा पानीको स्रोतमै असर पुग्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।
अन्तर्राष्ट्रिय पानी व्यवस्थापन संस्था (इमी) का जलस्रोत तथा जलवायु अनुसन्धानकर्ता डा. सन्तोष नेपालले सन् १९९० देखि २०२० सम्ममा हिमाली क्षेत्रको २५ प्रतिशत हिउँ पग्लिएको उल्लेख गर्दै अहिलेकै अवस्थामा तापक्रम वृद्धि भइरहे सन् २०५० देखि हिमाली क्षेत्रबाट बहने नदीहरूमा पानीको मात्रा घट्ने बताए।
आगामी मार्च २२–२४ सम्म अमेरिकाको न्यूयोर्कमा हुने जलस्रोत सम्मेलनमा नेपालका तर्फबाट प्रस्तुत गरिने अवधारणापत्रबारे जानकारी दिँदै नेपालले छोटो समयमा धेरै पानी पर्ने घटना बढिरहेको बताए। यस्ता घटनाले नेपालजस्तो भूबनोट भएका देशले ठूलो नोक्सानी बेहोर्नुपर्ने उनको भनाइ छ।
“एक वर्षमा पर्ने पानीको दरमा कमी आएको छैन। महिनाभर पर्नुपर्ने पानी केही मिनेट र घण्टामा पर्ने घटनाले नसोचेका विपत्तिको सामना गर्नुपरेको छ,” नेपाल भन्छन्, “दुई वर्षअघि मेलम्ची, मनाङ र सुदूरपश्चिम प्रदेशमा भएका बाढीपहिरोका घटना त्यसका उदाहरण हुन्।”
नेपालमा वार्षिक २२५ बिलियन क्युबिक मिटर पानीको उपलब्धता हुन्छ भने त्यसमध्ये ८.८ बिलियन क्युबिक मिटर पानी जमिनमा सोसिएर भूमिगत जलस्रोतका रूपमा भण्डारण हुन्छ। सबैभन्दा मुख्य चुनौती भनेको आठ महिनासम्म वर्षा नहुनु हो। मनसुनको सिजनका चार महिनामा मात्र ८० प्रतिशतभन्दा बढी पानी पर्छ।
४७ वर्षपछि आयोजना हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय पानी सम्मेलनमा नेपालका तर्फबाट प्रस्तुत गर्न तयार गरिएको अवधारणापत्रअनुसार अहिले नेपालमा उपलब्ध पानीमध्ये जम्मा १० प्रतिशत पानी मात्र उपयोगमा आएको छ। त्यसमध्ये १.४ मिलियन हेक्टर कृषियोग्य जमिनमध्ये ५० प्रतिशत भूमिमा मात्र सिँचाइ सुविधा उपलब्ध छ। पहिलो अन्तर्राष्ट्रिय पानी सम्मेलन सन् १९७७ मा अर्जेन्टिनामा भएको थियो।