काठमाडौं - ट्विटरका संस्थापकले नै ट्विटर छोडेका छन् । ज्याक डोर्सीले सोमबार ट्वीटरको सीईओ पदबाट राजीनामा दिने घोषणा गरेर सबैलाई चकित पारेका हुन् ।
यद्यपि उनले यस्तो संकेत यसअघि नै दिएका थिए । उनको स्थानमा भारतीय मूलका पराग अग्रवाल हुनेछन् । ४५ वर्षीय ज्याक ट्विटरसँगको सम्बन्धका कारण बारम्बार विवादमा पर्ने गरेका छन् ।
१६ वर्षदेखि ट्विटरका सीईओ ज्याक डोर्सीसँग सम्बन्धित विवादहरू समय समयमा बाहिर आउने गरेका थिए । ट्विटरका मालिक ज्याक डोर्सीले कम्पनीको सीईओ पदबाट राजीनामा दिएका छन् ।
उनले आफ्नो ट्वीटर ह्यान्डलमा राजिनामा दिएर सो जानकारी दिएका हुन् । उनको स्थानमा भारतका पराग अग्रवाल ट्विटरको सीईओ बन्नेछन् । उनी आईआईटी बम्बेबाट स्नातक हुन् ।
आफ्नो ट्विटर ह्यान्डलमा यसबारे जानकारी दिँदै पराग अग्रवालले पनि लेखेका छन्, ‘ज्याक र हाम्रो सम्पूर्ण टोलीलाई हृदयदेखि धन्यवाद र भविष्यको लागि धेरै उत्साह । मैले कम्पनीलाई पठाएको पत्र यहाँ छ । तपाईंको विश्वास र समर्थनको लागि सबैलाई धन्यवाद ।’
डोर्सीले आफ्ना तीन जना साथीहरूसँग मिलेर २१ मार्च, २००६ मा अमेरिकाको सान फ्रान्सिस्कोमा ट्विटर स्थापना गरेका थिए । त्यसपछि उनी सबैभन्दा ठूलो प्रविधि उद्यमी बन्न सफल भएका हुन् ।
डोर्सीले पद छाडेको समाचार बाहिरिएपछि कम्पनीको शेयर मूल्य १० प्रतिशतसम्म बढेको थियो । डोर्सी स्वंयम संस्थापक रहेको वित्तीय भुक्तानी कम्पनी स्क्वायरका सीईओ हुन् ।
सो कम्पनीका कतिपय ठूला लगानीकर्ताले उनी दुवै कम्पनीको सीईओ भएर काम गर्न सक्दैनन् भनेर प्रश्न गरेपछि उनले ट्विटरलाई विदा गरेको जनाइएको छ । तर, ज्याक सन् २०२२ सम्म कम्पनीको बोर्डमा रहनेछन् ।