निर्माता तथा अभिनेत्री पूजा शर्माले आफ्नो प्रेम सम्बन्धको बारेमा बताएकी छन् । अर्की अभिनेत्री प्रियङ्का कार्कीसँग कुरा गर्दै उनले अर्को वर्ष विवाह गर्ने योजना रहेको बताएकी हुन् ।
उनले आफ्नो जीवनमा कोही मान्छे आएको स्वीकारेकी छन् । त्यो व्यक्ति आकाश श्रेष्ठ नभएको र उक्त व्यक्तिलाई बुझ्ने क्रममा उनी रहेको बताएकी हुन् । विवाहका लागि उमेर पुगेको साथै करियर र सपना पनि बिस्तारै आफ्नो पक्षमा आएकाले उनले विवाहको योजना बनाएकी हुन् ।
आकाशसँग दर्शकले उनको विवाह भएको हेर्ने इच्छा राखेका थिए । तर आकाशमात्रै उनको सहकर्मी अभिनेता भने होइनन्‚ जसको नाम पूजासँग जोडिएको होस् । उनको नाम सुदर्शन थापा, प्रदीप खड्का र पल शाहसँग समेत जोडिएको थियो । तर उनलाई भने सँगै काम गरेका अभिनेतामध्ये आर्यन सिग्देल मन पर्नेसमेत बताएकी छन् ।
सञ्चारकर्ममार्फत क्यामेराअघि देखिन थालेकी उनी म्युजिक भिडिओमार्फत कला क्षेत्रमा प्रवेश गरिन् । अभिनयसँगै उनले चलचित्रमा लगानी गर्न थालेको पनि लामै समय भयो । यसअघिको एक अन्तर्वार्तामा उनले विवाहपछि भने पर्दामा नदेखिने र पर्दा पछाडिको काम गर्ने बताएकी थिइन् ।