काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले उपाधि होडमा एकल अग्रता कायम राखेको छ। बुधबार नै भएको अर्को खेलमा शीर्ष चारको दाबेदार टोटेनह्याम साउथहेम्टनसँग पराजित भयो।
सिटीले बुधबार ब्रेन्टफोर्डलाई २-० ले पराजित गर्दै दोस्रो स्थानको लिभरपुलसँग स्पष्ट रूपमा १२ अंकको अग्रता बनाएको हो। सिटीले खेलमा रियाद महरेजको गोलमार्फत पहिलो हाफमा १-० को अग्रता लिएको थियो।
आफ्नो सातौँ खेलमा आठौँ गोल गर्ने क्रममा महारेजले ४० औँ मिनेटमा गोल गरेका थिए। पहिलो हाफमा एक गोलको अग्रता बनाएको सिटीले ६९ औँ मिनेटमा केविन डि ब्रुयनेले गोलमार्फत अग्रता दोब्बर बनाएको थियो। जितसँगै सिटीले २४ खेलबाट ६० अंक बनाएको छ। २ खेल कम खेलेको लिभरपुलको ४८ अंक रहेको छ। चेल्सी ४७ अंकका साथ तेस्रो स्थानमा रहेको छ।
बुधबार राति भएको अर्को खेलमा टोटेन्ह्याम दुई पटक अग्रता लिएर पनि जोगाउन नसक्दा साउथहेम्टनसँग ३-२ ले पराजित हुन पुग्यो। टोटेनह्यामले खेलमा बेडनरेकको आत्मघाती गोलमार्फत १८ औँ मिनेटमा अग्रता लिएको थियो। तर ब्रोजाले २३ औँ मिनेटमा गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए। पहिलो हाफ १-१ गोलको बराबरी भएको खेलमा ७० औँ मिनेटमा सन ह्युङ मिनले लुकास मौउराको पासलाई सदुपयोग गर्दै पुन टोटेनह्यामलाई अग्रता दिलाएका थिए।
तर ७९ औँ मिनेटमा इल्योउनोउसीले साउथ हेम्टनलाई बराबरीमा ल्याए। टीमका लागि निर्णायक गोल भने आदम्सले ८२ औँ मिनेटमा गरेका थिए। दोस्रो हाफका दुवै गोलमा वार्ड प्रोउसेले असिस्ट गरेका थिए।
हारपछि टोटेनह्यामको शीर्ष चारको सम्भावना कठिन भएको छ। २१ खेलबाट टोटेनह्याम ३६ अंक बनाएर ७ औँ स्थानमा छ। त्यस्तै २३ खेल खेलेको साउथहेम्टन २८ अंकका साथ दसौँ स्थानमा उक्लिएको छ। बुधबार नै भएका अन्य खेलमा एस्टन भिल्ला र लिड्सले ३-३ गोलको बराबरी खेले। त्यस्तै क्रिस्टल प्यालेस र नर्विचले पनि १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए।